पोखरामा आउदो फागुण २ गते (शनिबार) आयोजना हुने २० औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०८२ मा भाग लिन राष्ट्रिय तथा अन्र्तराष्ट्रिय धावकहरु उत्साहित बनेका छन् । सुजल डेरीको मुख्य उत्पादन सफल दुधको मुख्य प्रायोजनमा नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजनामा हुने उक्त म्याराथन (४२ किमि) सहितको २१ वटा इभेण्टको लागि आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ ।

यस वर्ष पोखरा म्याराथन अन्तर्गत ४२ किलोमिटरको म्याराथन, हाप म्याराथन (२१ किलोमिटर) सहितका २१ वटा इभेण्टमा प्रतिस्पर्धा हुने गरी ३ हजार ५ सय ६ जना धावकरुले नाम दर्ता गराएको मञ्चका अध्यक्ष दील बहादुर गुरुङले बताउनु भयो । ‘रन फर फन’ सहित करिब १० हजार जना शनिबार पोखरा म्याराथन दौडको अभियानमा सहभागि हुने उहाँले जनाउनु भयो । अन्य विधामा खेलाडी दर्ता बन्द भए पनि रन फर फनको लागि शनिबार पनि स्वत स्फुर्त रुपमा दौडमा सहभागि हुन सकिने मञ्चले पोखराक्लिकलाई जनाएको छ । खुल्ला म्याराथन ४२.१९५ किमि, राष्ट्रिय तथा प्रदेशस्तरीय म्याराथन, ४५ वर्ष माथिको म्याराथन, हाफ म्याराथन महिला–पुरुष, १० किमि दौड, विद्यालयस्तरीय ५ किमि दौड, भेट्रान्स, कर्पोरेट दौड तथा ‘रन फर फन’ समावेश गरिएको उहाँले जनाउनु भयो । प्रतियोगितामा अमेरिका, बेलायत, न्यूजिल्याण्ड, केन्या, नाइजेरिया, बेल्जियम लगायत विभिन्न देशबाट धावकहरूको सहभागिता रहने भएको मञ्चका सचिव महेश पौडेलले बताउनु भयो ।
यस वर्ष २१ वटा स्पर्धामा ७६ जना विजेतालाई कुल रु १९ लाख ९८ हजार नगद पुरस्कार वितरण गरिने भएको अध्यक्ष गुरुङले जनाउनु भयो । म्याराथनतर्फ प्रथम हुनेले रु ४ लाख, द्वितीयले रु २ लाख र तृतीयले रु १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । चौथोदेखि आठौँ स्थानसम्मका खेलाडीलाई पनि नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
साथै, दूरी पूरा गर्ने सबै खेलाडीलाई ३ हजार ७ सय फिनिसर मेडल प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । मञ्चका अध्यक्ष दीलबहादुर गुरुङले मञ्चको स्थापना २०५८ सालमा भई राष्ट्रको खेलकुद विकासमा योगदान पु¥याउने उद्देश्यका साथ क्रियाशील रहेको उल्लेख गर्दै पोखरा म्याराथनलाई शहरकै उत्सवका रूपमा विकास गर्दै आएको दाबी गर्नुभयो । “पोखरालाई खेलकुद पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित सिटी म्याराथनको अवधारणामा आधारित भएर यो प्रतियोगिता निरन्तर आयोजना हुँदै आएको छ।” अध्यक्ष गुरुङले भन्नुभयो ।
