झापामा वर्षौ देखि समस्याका रुपमा रहेको जंगली हात्तीको आतंक दीर्घकालीन समाधानका लागि आवश्यक पहल थालिएको छ । मंगलबार सरोकारवालाहरू संगको बैठकमा सहभागीहरुले हात्तीबाट भोग्दै आएको पीडामा स्थानीय सरकारले मात्रै केही गर्न नसक्ने भएकाले प्रदेश सरकारले पहल लिने बताएका हुन् । सरोकारवालाको बैठकले संघीय सांसद र कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्नेसँग पहलकदमीका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।
त्यस्तै, हात्ती मानव द्वन्द कम गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, डिभिजन वन कार्यालय झापा, स्थानीय जानकार व्यक्तिहरुको संलग्नतामा हाती मानव द्वन्द न्यूनीकरण गर्न पहल गर्ने,तत्काल आवश्यक पर्ने इन्धन, टर्चलाइट लगायतका अत्यावश्यक सामग्री डिभिजन वन कार्यालय, झापाले उपलब्ध गराउने र अपुग भएमा नगरपालिकाले सहयोग गर्ने निर्णय पनि बैठकमा भएको छ ।
मेचीनगर नगरपालिकाको बाहुनडाँगी लगाएतका क्षेत्रमा भारततर्फबाट ठूलो संख्यामा नेपाल प्रवेश गर्ने हात्तीले धपाउने क्रममा स्थानीय बासिन्दाले ज्यान गुमाएका छन । हात्ती आक्रमणबाट धेरैको अंगभंग भएको छ भने खेतीबाली, घरमा समेत ठुलो क्षति हुँदै आएको छ ।
