दसैँ, तिहारजस्ता ठूला चाडबाडको मुखमा पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । अखाद्य वस्तुको किनमेल र मनपरी मूल्य लिने प्रवृत्ति रोक्न बजार अनुगमन थालिएको हो । लेखनाथ क्षेत्रका पसल अनगुमन गर्दा विभिन्न पसलबाट झण्डै रु १८ हजार मूल्य बराबरको म्याग गुज्रेका र अखाद्य वस्तु मिसाइएका सामग्री जफत गरी नष्ट गरिएको महानगरका बजार अनुगमन अधिकृत भरतराज पौडेलले जानकारी दिए ।
चाडबाडका बेला बजारमा हुने उपभोक्ताको भीडभाडको मौका छोपेर व्यवसायीले म्याद गुज्रेका सामान बेच्ने गरेको गुनासो आउने गरेको अनुगमन अधिकृत पौडेलले बताए । बजारमा कृत्रिम अभाव देखाएर मनलाग्दीरूपमा सामानको भाउ बढाउने व्यवसायीलाई कारबाही गरिने उनको भनाइ छ ।
तिहारसम्मै बजार अनुगमनलाई तीव्रता दिइने महानगरले जनाएको छ । महानगरका उपप्रमुख एवं अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा बजार अनुगमन भइरहेको हो । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलगायतका प्रतिनिधि सहभागी छन् ।
