पोखराभित्र सञ्चालन हुने भाडाका ट्याक्सी मिटरमा चल्न शुरु गरेका छन् । प्रदेश सरकार मातहतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालय सवारीले ट्याक्सीलाई मिटर अनिवार्य गरेको हो । ट्याक्सीले मिटर चलाएर यात्रु बोके/नबोकेको अनुगमनका लागि भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशमबहादुर जुग्जाली आफैं सडकमा निस्किनुभएको थियो ।
मन्त्री जुग्जालीले प्रदेश सरकारले विसं २०७७ मा ट्याक्सी मिटरमा सञ्चालन गर्न सुरु गरे पनि लागू नभएको बताउनुभयो । उहाँले अब लागू गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभयो । मन्त्री जुग्जालीले भन्नुभयो ‘पहिला किन लागू भएन भनेर समेत हामीले समीक्षासमेत गरेका छौँ,’अहिले लागू भएरै छाड्छ ।’
यातायात व्यवस्था कार्यालयका प्रमुख डिल्लीराम रिज्यालले कार्यान्वनयको पहिलो दिनमा अधिकांशले ट्याक्सी मिटरमा सञ्चालन गरेको पाइएको बताउनुभयो । उहाँका अनुसार विविध कारण देखाएर सञ्चालनमा नभएका एका÷दुई ट्याक्सी चालकलाई सचेत गराइएको र आगामी दिनमा प्रभावकारी कार्यान्वयन गरिने छ ।
ट्याक्सी मिटरमा चल्नका लागि प्रदेश सरकारले भाडासमेत तोकेको छ । समायोजन गरेको पछिल्लो भाडाअनुसार १५ किमीभित्र यात्रा गर्दा सुरुआती दुई सय मिटरसम्मको रु ८० र त्यसपछि प्रतिदुई सय मिटर बराबर रु १० कायम गरिएको छ । त्यसैगरी १५ किमीभन्दा बढी यात्रा गर्दा प्रतिकिमी ३७–५० का दरले भाडा लिनुपर्नेछ ।
