पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान भएको छ । विमानस्थल उद्घाटन भएको ६ महिनापछि बल्ल पहिलो पटक अन्तर्राष्ट्रिय उडान भएको हो । अहिलेसम्म यहाँ आन्तरिक उडान मात्रै भइरहेको थियो । विमानस्थलमा बुधबार विहान पहिलो अन्तर्राष्ट्रिय उडान हुँदा पोखरेलीले भव्य स्वागत गरे ।
चीनको छेन्दुबाट आएको सिचुआन एयरलाइन्स आज विहान ९ः०६ बजे अवतरण भएको हो । विमानलाई ‘वाटर क्यानन सल्युट’ले स्वागत गरियो । पहिलो अन्तर्राष्ट्रिय उडानका रुपमा ८४ जना यात्रु बोकेर आएको १३१ सिट क्षमताको चिनियाँ सिचुआन एयरलाइन्सलाई स्वागत गर्न पोखरेलीहरु बाजागाजासहित विमानस्थल पुगेका थिए । विमानका यात्रुहरुलाई पर्यटन व्यवसायीले माला र खादाले स्वागत गरे ।
