पोखराको एक बिजुली पसलको गोदाममा बुधबार राति आगलागी हुँदा करिब १ करोड क्षति भएको छ । पोखरा १० शान्तिपथस्थित साङ्ग्रिला सप्लायर्स बिजुली पसलको गोदाममा बुधबार राति करिब साढे १० बजे आगलागी भएको हो । आगालागी भएको देखी पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयसँगै दमकल, नेपाल प्रहरी र कालिका गण मालेपाटनबाट सशस्त्र प्रहरी टोलीले आगो राति सवा ११ बजे नियन्त्रणमा लिएको थियो । स्थानीय लोकबहादुर थापाको घरमा चाउथेका ध्रुव मरासिनीले ३ वर्षदेखि पसल संचालन गर्दै आएका थिए । आगलागीमा बिजुलीका सामान जलेर करिब १ करोड रुपैयाँ बराबरको क्षति भएको मरासिनी परिवारले जनाएको छ । आगो के कति कारणले लाग्यो भन्ने खुलेको छैन । तर, प्रहरीको प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भई आगलागी भएको अनुमान छ ।

त्यस्तै पोखरा ३१ बेगनास लाकुरीडाँडा जंगलमा भिषण आगलागी हुँदा ९ घर जोखिममा रहेको खबर पाएपछि कालिका गणको उद्धार टोली आगो नियन्त्रणमा खटेको कालिका गणका गणपती एसपी अरुण पौडेल शर्माले जानकारी दिए । शर्माका अनुसार सशस्त्र प्रहरीको उद्धार टोलीले आगो नियन्त्रणमा लिएर बिहान ३ बजे फर्किएको थियो ।
