पोखरा अन्र्तराष्ट्रिय म्याराथन प्रतियोगिता शनिबार पोखरामा आयोजना हुँदैछ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा प्रत्येक वर्ष फागुनको पहिलो शनिबार हुने पोखरा अन्र्तराष्ट्रिय म्याराथन प्रतियोगिताको १८ औं संस्करण यस वर्ष शनिबार हुन लागेको हो । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम तय भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए ।

पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गर्ने उद्धेश्यले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ हुने प्रतियोगितामा यस वर्ष विभिन्न ९ वटा ईभेन्टमा प्रतिष्पर्धा हुँदैछ । प्रतियोगिताको मुख्य ईभेन्टका रुपमा ४२.१९५ किलोमिटर खुल्ला म्याराथन आयोजना हुने अध्यक्ष पराजुलीले बताए । उनका अनुसार खुल्ला म्याराथनमा नेपालसहित १४ देशका १०८ जना धावकले प्रतिष्पर्धा गर्दैछन् । सो ईभेन्टमा विदेशी ३१ जना खेलाडीले सहभागिता जनाउँदैछन् । जसमा युके ६, चीनका ५, केन्याका ४, बंगलादेश, जर्मनी र जापानका ३÷३ जना तथा क्यानडा, फ्रान्स, हङकङ, भारत, साउदी अरब, ताईवान र अमेरिकाका १/१ जना प्रतिष्पर्धीका रुपमा अध्यक्ष पराजुलीले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत महिलातर्फको हाफ म्याराथनमा १७ जना धावकहरुले प्रतिष्पर्धा गर्ने मञ्चले जनाएको छ । जसमा ५ जना विदेशी धाविकाहरुले प्रतिष्पर्धा गर्ने अध्यक्ष पराजुलीले जानकारी दिए । उनका अनुसार यो ईभेन्टमा चीनका २, क्यानडा, केन्या र युकेका १/१ जना प्रतिष्पर्धीले सहभागिता जनाउँदैछन् ।
प्रतियोगिता अन्तर्गत हुने खुल्ला पुरुष १० किलोमिटर पुरुष दौडमा ११ जना विदेशीसहित १२९ जना, महिला १० किलोमिटर दौडमा ३ विदेशीसहित २९ जना, ५ किलोमिटर छात्र दौडमा ९९० जना, ५ किलोमिटर छात्रा दौड प्रतियोगितामा ४८६ जना प्रतिष्पर्धी दौडिने मञ्चले जनाएको छ । यसैगरी ५ किलोमिटर भेट्रान महिला दौडमा १० जना, ५ किलोमिटर भेट्रान पुरुष दौडमा १० जना सहभागि हुने अध्यक्ष पराजुलीले जानकारी दिए । यसबाहेक रन फर फनसहितका सबै ईभेन्टमा गरेर ८ हजारदेखि १० हजार जना दौडिने आयोजकको अनुमान छ । महिला तथा पुरुष ह्विल चेयर प्रतियोगिता र दृष्टिविहिन् एक सय मिटर महिला तथा पुरुष दौड प्रतियोगिता भने यसअघि नै भइसकेको छ ।
मञ्चका पूर्व अध्यक्ष तेजबहादुर गुरुङले विश्व परिवेशमा चर्चित शहरको नाममा आयोजना गरिने सिटी म्याराथनको अवधारणा अनुरुपनै सुन्दर पर्यटकीय नगरी पोखरालाई पनि खेलकुदका विश्व मानचित्रमा स्थापित गराउने, खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न र वर्षको एक दिन शहरकै उत्सवको रुपमा प्रतियोगितालाई स्थापित गराउने आफूहरुको उद्देश्य रहेको बताए । उनले प्रतियोगितालाई गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले स्वामित्व ग्रहण गरेर सहयोग गरिरहेको उल्लेख गरे ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताले आयोजक संस्थाहरुको छाता संगठन एम्सको सदस्यता पाइसकेकाले यस वर्षदेखि प्रतियोगितात्मक दौडमा सहभागि सबै खेलाडीमा चिप्सको प्रयोग गरिने भएको छ । यस वर्ष रन फर फनबाहेक सबै दौडमा चिप्सको प्रयोग गरिने पूर्व अध्यक्ष गुरुङले बताए ।
पोखरा अन्र्तराष्ट्रिय म्याराथनको रुट यस वर्ष परिवर्तन गरिएको छ । यस वर्ष सहरी रुटलाई छोट्याएर ग्रामिण क्षेत्रका रुटमा धावकहरुलाई दौडाइने भएको हो । पोखरा रंगशालाबाट सुरु हुने पोखरा अन्र्तराष्ट्रिय म्याराथन अमरसिंहचोक, कदम मार्ग, मियापाटन, रानीपौवा, पृथ्वीनारायण क्याम्पस गेट, हरिचोक, विन्ध्यबासिनी, जिरोकिलोमिटर, हल्लनचोकहुँदै पामे, घाँटीछिना पुगेर पुनः सोहि रुट भएर क्याम्पिङ चोकमा आएर समापन हुने गुरुङले जानकारी दिए । सहरी भिडभाडलाई छलेर दौडाउन यो रुट तय गरिएको हो,उनले भने,‘जहाँ धावकहरुले तालको किनारमा हिमाल हेर्दै दौडन पाउँछन् ।’
पोखरा अन्र्तराष्ट्रिय म्याराथनमा प्रथम हुनेलाई नगद ५ लाख, दोश्रो हुनेलाई ३ लाख, तेश्रो हुनेलाई २ लाख र चौथो हुनेलाई सान्त्वना स्वरुप ३० हजार प्रदान गरिने आयोजकले जनाएको छ । सोहि ईभेन्टको गण्डकीतर्फ प्रथम हुनेलाई ५० हजार, दोश्रो हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष पराजुलीले जानकारी दिए ।
यसैगरी, महिलातर्फको हाफ म्याराथनको बिजेतालाई १ लाख ५० हजार, द्वितीय हुनेलाई १ लाख, तृतीय हुनेलाई ७५ हजार र चौथो हुनेलाई सान्त्वना स्वरुप १५ हजार प्रदान गरिने उनले बताए । १० कि.मी. पुरुष–महिला दौडमा प्रथमलाई ३०, दोश्रोलाई २० हजार र तेश्रो हुनेलाई १५/१५ हजार, ५ किलोमिटर छात्र–छात्रा दौडमा प्रथमलाई १५ हजार, दोश्रोलाई १० र तेश्रो हुनेलाई ७/७ हजार प्रदान गरिने मञ्चले जनाएको छ ।
