पोखरा, फागुन १, पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको छ । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त आयोजनामा एक वर्ष अगाडि पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको थियो । पर्यटनको राजधानी पोखरा भनेर गरिएको घोषणालाई सार्थक बनाउन पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष घोषणा गर्ने तयारी गरेको छ ।

यहि फागुन ३ गते शनिबार एक औपचारिक कार्यक्रम गरेर पोखरा भ्रमण वर्ष घोषणा गर्न लागेको पोखरा महानगरपालिकाले विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । पोखरा भ्रमण वर्ष–२०२५ मा मात्रै २० लाख पर्यटक भित्राउने लक्ष्य लिइएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए ।
पोखरा भ्रमण वर्ष सफल बनाउन र २० लाख पर्यटक भित्राउनका लागि पोखरामा राष्ट्रियस्तरका विभिन्न प्रतियोगिता तथा समिटहरु आयोजना गर्नुका साथै पर्यटन लक्षित ‘टुरिजम ईन्भेष्मेन्ट समिट’समेत आयोजना गर्ने मेयर आचार्यले जानकारी दिए । उनका अनुसार भ्रमण वर्ष सफल बनाउन तथा पर्यटक आकर्षित गर्न पर्यटन प्याकेजसमेत घोषणा गरिने उनले बताए । सो प्याकेज भ्रमण वर्ष घोषणा कार्यक्रममै सार्वजनिक गरिने उनको भनाई छ । पोखरा भ्रमणका लागि स्वदेशी तथा विदेशी दुबैलाई सपरिवार पोखरा घुम्न आउन आह्वान गरिने आचार्यले बताए ।
भ्रमण वर्ष सफल बनाउन विभिन्न विकास साझेदार, विदेशी नियोग तथा नेपालस्थित राजदुतावाससँग समन्वय गरी विभिन्न सहरमा पोखराबारे प्रचारात्मक अभियान चलाईनेपनि उनले जानकारी दिए । त्यसबाहेक कुटनीतिक नियोगसँग समन्वय गर्दै पोखरा भ्रमणको प्रर्वद्धन गरिदिन आह्वान गरिने महानगरको योजना रहेको उनले बताए । पोखरासँग भगिनी सम्बन्ध स्थापित भएका सहरका उच्चपदस्थ पदाधिकारीलाई पोखरा भ्रमण गर्न र गराउन औपचारिक निमन्त्रणा सहित पहलकदमी लिने महानगरको योजना छ । भ्रमण वर्षको अवधिभर स्वदेशका ५ र विदेशका ५ गरी थप १० सहरसँग भगिनी सम्बन्ध कायम गर्ने महानगरको योजना रहेको उनले बताए ।
