मुस्ताङ वारागुङ मुक्तिक्षेत्र—१ स्थित मुक्तिनाथ पुराङ रानीपौवामा बर्सेनि मनाईने ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक ‘यार्तुङ’ मेलाको तयारी थालिएको छ । क्लवका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले संस्कृति जिवित रहेमात्रै हिमाली क्षेत्रको मौलिकता संरक्षण हुने र यहाँको संस्कृति र पहिचान जोगाउन क्लवले यार्तुङ मेलाको रुपमा विभिन्न सृजनात्मक कार्यक्रमहरु समावेश गर्दैआईरहेको बताए ।

यसपालिकाको यार्तुङ मेलामा घोडा दौड प्रतियोगिता र कदम घोडा दौड प्रतियोगिता मुख्य आकर्षण रहेको अध्यक्ष ठुकुरीले बताए । यार्तुङ घोडा दौड प्रतियोगितामा छिमेकी जिल्ला मनाङ—डोल्पा देखि उपल्लो मुस्ताङ र तल्लो मुस्ताङका घोडा राईडरहरुले सहभागिता जनाउने भएका छन ।
मुक्तिनाथको यार्तुङ मेलामा झन्डै एक सय भन्दा बढी घोडा राईडरहरुले प्रतियोगितामा भाग लिने अपेक्षा छ । यार्तुङ मेलामा प्रथम हुने कदम घोडा राईडरलाई नगद एक लाख ५० हजारसहित सिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएका छन । कदम घोडा दौड प्रतियोगितको दोस्रो हुने कदम घोडा राईडरलाई नगद असी हजार र तेस्रो हुने कदम घोडा राईडरलाई नगद ५० हजारसहित प्रमाण पत्रद्वारा पुरस्कृत गरिने भएको छ ।
हिमाली क्षेत्रको महत्वपूर्ण पर्व यार्तुङ बर्खायामको समाप्ति पछि मनाईने एक प्रकारको सांस्कृतिक पर्व हो । यारको अर्थ बर्खा र तुङको अर्थ समाप्ति भन्ने बुझिन्छ । खेतीपातीको कामकाज सकेर मनाईने यसप्रकारको पर्वलाई यार्तुङ पर्व भन्ने गरिएको छ ।
