रेष्टुरेण्ट एण्ड वार एशोसियसन अफ नेपाल (रेवान) पोखराको ३१ औं बार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । विहिबार सम्पन्न अधिवेशनको पोखराका मेयर धनराज आचार्यले एक समारोहका विच उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले रेवान पोखराले नेपालकै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिंका निर्वाह गरेको बताउनुभयो । उहाँले पोखरा सडक महोत्सव अन्र्तराष्ट्रिय ब्राण्ड बनिसकेकोले यसको प्रवद्र्धनमा सबै पोखरेली लाग्नुपर्नेमा जोड दिनुभयो ।
पोखरा भ्रमण बर्ष २०२५ हाल जारी रहेकोले पोखरामा हुने कुनै पनि खेल गतिविधि देखि मेला एवं महोत्सवलाई महानगरले प्रबद्र्धन गर्दै आएको उहाँले जनाउनु भयो । आफ्नो नेतृत्व र प्रदेश सरकारको समेत पहलमा पोखरालाई पर्यटनको राजधानि घोषणा भएकोले जनाउदै मेयर आचार्यले पोखरा क्षेत्रको प्रबद्र्धन गर्न यस बर्ष एक करोड बजेट विनियोजन गरिएको उल्लेख गर्नुभयो ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटन सचिव ईन्द्रप्रसाद बस्यालले प्रदेशको पर्यटन क्षेत्रको प्रबद्र्धन गर्न पर्यटन ऐन ल्याउने तयारि भएको बताउनु भयो । उक्त ऐनको हाल मस्यौदा ल्याएको उहाँले जनाउनु भयो । कास्कीका प्रमुख जिल्ला अधिकारी रूद्रादेवि शर्माले हामी सबै जना कानूनमा बाधिएको उल्लेख गर्दै प्रचलित कानुन पालना गर्न निर्देशन दिनुभयो । आवश्यक शान्ति सुरक्षा दिन तयार रहेको बताउदै उहाँले मापदण्ड पालना गर्न सबैमा उहाँले सुझाव दिनुभयो ।
रेवान केन्द्रका निवर्तमान अध्यक्ष अरनिको राजभण्डारीले होटल तथा रेष्टुरेन्टले एमआरपि मुल्यमा पानी तथा पिय पदार्थ बिक्रि गर्न नसक्ने बताउनुभयो । सामाजिक सुरक्षा कोष सहित न्यूनतम पारिश्रम लागू गर्न नसक्ने त्यसको बर्गीकरण गर्न माग गर्नुभयो ।नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले मासिक दुई÷तीन वटा कार्यक्रम गर्न लागीएको बताउदै पोखरामा पर्यटकको बसाई अबधि कम भएको जनाउनु भयो । पोखरामा पर्यटकको बसाई अवधि के कस्तो छ त त्यसको तथ्यांक संकलन गर्न आवश्यक भएको उहाँको भनाई थियो । पोखरा भ्रमण बर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपी बहादुर भट्टराईले पोखराको पर्यटन प्रबद्र्धन गर्ने विभिन्न कार्यक्रम गर्ने बताउनु भयो । देशकै धोजाबाहक जहाजबाट पोखरा र लुम्बिनीबाट अन्तर्राष्ट्रिय हवाई उडान संचालन गर्न उहाँले माग गर्नुभयो ।
पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले भिलेज पर्यटन प्रबद्र्धनमा समेत रेवानले काम गर्दै आएको बताउनु भयो । द्वितिय उपाध्यक्ष बिकास भट्टराईले पोखरा पर्वको शहर भएको बताउनुभयो । रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपालको पाँच तारे होटलका पहिलो जनरल म्यानेजरको रुपमा रहनु भएको किशोर पाण्डेलाई सम्मान गरिएको रेवान पोखराले पोखराक्लिकलाई जनाएको छ । उहाँले पर्यटन क्षेत्रमा पुर्याएको योगदानलाई रेवानले कदर गर्दै सम्मान गरेको महासचिव विरेन्द्र शेरचनले बताउनु भयो । उहाँ दुई खेल टेवल टेनिस र क्रिकेटका अन्तरास्ट्रिय खेलाडी समेत हुनुहुन्छ । ७८ बर्षीय पाण्डे हाल पनि सक्रिय हुनुहुन्छ ।
