
२०१४ साल जेष्ठ १० गते पोखरा मझेरीपाटनमा जन्मिएका सीताराम के.सी. भनेर चिनिने सूर्यबहादुर केसीले पोखरा सहरमा धेरै विकासका कामहरु सम्पन्न गरेका थिए । राजनीतिमा कहिले उदाँउदो त कहिलेकाहि आफुले सोचे अनुसारको सफलता प्राप्त गर्न धौधौ पर्दथ्यो यिनलाई । तर पनि पञ्चायती राजनीतिमा यिनले युवा नेताको रुपमा ठूलो सफलता हासिल गरेका थिए । उनले पञ्चायती राजनीतिक युवाहरुको नेतृत्व मात्र गरेनन्, युवाहरु माँझ लोकप्रिय पनि थिए ।
उनी व्यावसायिक घरानामा जन्मे हुर्केको हुँदा उनको सामाजीकरण र मार्गदर्शन गर्ने व्यक्ति आफनै पिता थिए । युवा अवस्थाको प्रारम्भिक दिनमा उनले राजनीतिमा खासै चासो देखाएनन् । तर केहि व्यक्तिले उनको सामाजिक गतिविधीको बिरोध गर्न खोजेपछि विपक्षीहरुको शेखी झार्न राजनीतिमा प्रवेश गरेका थिए ।
उनका पिताको मुख्य पेशा ठेक्कापट्टा भएको हुनाले उनले पनि बुबाबाटै ठेक्कापट्टाको ज्ञान प्राप्त गरे । सूर्यबहादुर के.सी. नेपाली उद्योगपति तथा प्रतिनिधि सभा सदस्य थिए । उनी नेपालमा रारा चाउचाउको उद्योग स्थापनाका लागि पनि परिचित थिए । उनी यस धरतीबाट विदा हुनुभन्दा तीनवर्ष अघिदेखि नेपाली कांग्रेसको सदस्य थिए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कोषाध्यक्षको पद पनि सम्हालेका थिए । पोखरा नगर पञ्चायतको प्रधानपञ्च भएर वि.स. २०४१ साल देखि २०४६ सालसम्म विकासका थुप्रै प्रभावशाली कामहरु पुरा गरेका थिए । २७ वर्षको युवा अवस्थामा नै यिनी प्रधानपञ्च बनेका थिए ।

के.सी ठेक्का, औद्योगिक व्यवसाय र निर्माण कार्यमा पनि निक्कै सफल व्यक्ति हुन् । आफनो उत्कृष्ट व्यावसायीक ज्ञान र सीपका कारण उनले पोखरा शहरको विकासमा धेरै राम्रा कामहरु गरेका थिए । विकासको कुरा गर्दा उनी धेरै विकास प्रेमि थिए । नगर भित्रका विकासका योजना तर्जुमा गर्दा र कार्यान्वयन गर्दा सबै राजनीतिक नेताहरुसंग सुझाव र सल्लाह लिने गर्थे । पोखरा सहरको विकासमा स्वर्गीय राजा वीरेन्द्रको अथाहा चासो र रुचिका कारण के.सी.ले बेलाबेलामा राजाबाट निर्देशन पाइरहन्थे । यिनले त्यसवेलाको नगर पञ्चायत भित्रको विकासका लागि सल्लाहाकार समिति पनि गठन गरेका थिए ।
विकासको काममा राजाबाट समेत प्रत्यक्ष साथ र निर्देशन पाइरहने के.सी. कसैको दबाव वा प्रभावमा नपर्ने साहसी व्यक्तित्वका लागि परिचित पनि थिए । उनले आफुले चालेका र सोचेका योजनाहरु पुर्णरुपले साकार हुन नसके पनि आधुनिक पोखराको जग बसाल्ने कामको भने सुरु गरेका थिए । उनी २०७४ मा रा.प्र.पा पार्टी त्यागेर नेपाली कांग्रेसको समानुपातिक तर्फबाट प्रतिनीधि सभा सदस्य बनेका थिए । मैले उनको संगतमा दशौ बर्षसम्म रहेर, उनको बारेमा देखेका, अनुभव गरेका र सुनेका केहि कुराहरु छोटकरीमा तल उल्लेख गर्ने प्रयास गरेको छु ।
सेतीपारी कालिका बहुमुखी क्याम्पसको स्थापना :
पोखराको सेती नदी पारि उच्च शिक्षा दिने क्याम्पस थिएन । यस्तो अवस्थामा पोखराका राजनीतिक व्यक्ति, बुद्धिजीवी र धेरै प्रतिष्ठित व्यक्तिहरुको परामर्श र निर्णयपछि कालिका क्याम्पसको स्थापना गर्ने निर्णय गरि त्यसको नेतृत्व सूर्यबहादुर के.सी.लाई दिइएको थियो । क्याम्पस स्थापना हुनु पूर्व विभिन्न झैझमेला र राजनीतिक खिचातानी पनि भएको थियो । उनलाई क्याम्पस स्थापना देखि स्विकृतिको समयसम्म विभिन्न अवरोध र कठिनाइका कारण निक्कै मिहिनत गर्नु परेको थियो । त्रिभुवन विश्व विद्यालयका तत्कालीन उपकुलपति केदारभक्त माथेमा, सुर्यबहादुर के.सी.संग राम्ररी परिचित भएकाले त्रि.वि.ले कुनै आनाकानी बिना कालिका बहुमुखी क्याम्पसलाई सम्बन्धन दियो ।

२०६८ सालमा तत्कालीन सम्माननिय तथा प्रथम राष्ट्रपति डा. रामवरण यादवले क्याम्पस भवन उद्घाटन गरेका थिए । २५ वर्षको रजत जयन्तीको अवसरमा उद्घाटन गरिएको यस क्याम्पसले रजत जयन्ती पनि भव्य रुपमा मनाएको थियो । धेरै मिहिनेत र समय लगाएर निर्माण भएको र फष्टाउदै गएको यस क्याम्पसको उद्घाटन विशिष्ट व्यक्तिबाट गराउने जुन सोच थियो त्यो सफल भयो । यस क्याम्पसबाट उच्चशिक्षा हासिल गरेका विद्यार्थीहरुले स्वदेश तथा विदेशमा विभिन्न पेशा व्यवसाय र रोजगारीमा आफुलाई उत्कृष्ट सावित गर्न सफल भएका छन् । कालिका बहुमुखी क्याम्पस समयमा नै स्थापना नभएको भए धेरै विद्यार्थी उच्च शिक्षाबाट बन्चित हुने थिए ।
पोखरा सहरभित्र शिक्षाको क्षेत्रमा सूर्यबहादुर के.सी.को सहयोग र सेवा अमूल्य छ । विशेषगरी सेती नदी पारी उच्च शिक्षा हासिल गर्ने क्याम्पस नभएको अवस्थामा कालिका बहुमुखी क्याम्पस स्थापना भएपछि हजारौ विद्यार्थीले आफनो रोजाइको विषयमा उच्च शिक्षा हासिल गर्ने अवसर पाएका छन् । के.सी.को मिहिनेत, पसिना र करोडौको आर्थिक सहयोगले गर्दा घरानिया परिवारका सन्तानले समेत यस क्याम्पसमा उच्च शिक्षा हासिल गर्ने अवसर पाइरहेका छन् ।
“कीर्ति स्मृति पत्रकारिता पुरस्कार” प्रतिष्ठानको स्थापनाः
सूर्यबहादुर के.सी ले आफना स्वर्गीय पिता कीर्ति बहादुर के.सी.को सम्मान र स्मृतिमा उक्त कोषको स्थापना गरेका हुन् । के.सी.ले आफना पितालाई भगवानको रुपमा मान्ने गर्दथे । बुबाले शिक्षादिक्षा लगायत सामाजिकरणका सबै कार्यहरु पुरा गरेर भविष्यको बाटो समेत देखाइ दिएकाले सूर्य बहादुर के.सी ले बुबालाई भगवान सरह मानेका थिए ।

बुबाले देखाएको बाटो पछाउदै जादाँ आफनो व्यापार व्यबसायमा सफल मात्रै भएनन् बरु नेपालको अर्बपति समेत बने । पोखरा बासीहरुको लागि पनि उज्यालो ताराको रुपमा चम्केका थिए । बुबालाई देवतुल्य मान्ने सूर्य बहादुर के.सी.ले हरेक दिन बुबाको प्रतिमालाई दर्शन र साष्टङ्ग अर्पण गर्ने गर्दथे । सूर्य बहादुर के.सी.ले आफनो स्वर्गीय पिता प्रतिको अपार समर्पण र स्नेहका कारण कीर्ति स्मृति पत्रकार पुरस्कारको स्थापना गरेका थिए । यो ट्रष्ट पत्रकार महासंघ कास्कीले सञ्चालन गर्दै आएको छ । छनोट समितिले पुरस्कार पाउने व्यक्तिको नामावली छनौट गर्दछ । वि.स. २०७३ साल देखि वितरण गर्दै आएको यो पुरस्कारबाट युवराज घिमिरे, बद्री बिनोद प्रतिक, किशोर नेपाल, डा. सुरेश आचार्य, माधव शर्मा र कृष्ण प्रसाद वास्तोलालाई सम्मान गरीएको छ ।
राष्ट्र र समाज सेवाको लागि निरन्तर लागि पर्ने मानिस थोरै मात्र पाइन्छन् । धेरै मानिसहरु व्यक्तिगत उन्नति र सुख सयलमा मात्र चासो राख्दछन् । त्यस्तै आफनो व्यवसायीक प्रगतिको साथ साथै आफनो समाज र राष्ट्र प्रति सेवा गर्ने व्यक्ति पनि थोरै मात्रमा भेटीन्छन् । तर आफनो व्यापार व्यसायलाई सफल पार्दै आफुले आर्जेको धन–सम्पतिबाट केहि रकम छुट्याएर समाज सेवामा खर्च गर्ने व्यक्ति सूर्यबहादुर के.सी.को नाम अग्रपक्तिमा पर्दछ । कसै कसैले उनलाई दानवीर पनि भन्ने गर्दथे । शिक्षाको क्षेत्रमा उनका धेरै योगदान छन् जसलाई यस छोटो लेखमा वर्णन गर्न संभव छैन ।
जीवनले सधै आफुले सोचेको रेखालाई पछाउदो रहेनछ । जीवनको यात्रा कहिले तल कहिले माथि, कहिले बांगोटिंगो त कहिले सरल रेखामा हिड्दोरहेछ । भनिन्छ जीवन सधै एउटै रेखामा चल्दैन । त्यसैगरी संघर्ष पनि विभिन्न रेखाबाट अगाडि बढ्दो रहेछ । के.सी.ले आफनो जीवनमा बिभिन्न रेखाबाट धेरै संघर्ष र कठिनाईहरु पार गर्देै गएका थिए । धेरै जसोले आप्mना अप्ठेरा खालका चुनौतीहरुको सामना गर्न नसकेर चुनौतीहरु सगै आत्मसमर्पण गर्दछन् । तर के.सी.ले आफनो जीवनकालमा अतिनै जटिल र खतरनाक खालका चुनौतीहरु समेत पार गर्दै गए । राजनैतिक व्यक्तित्व भएको कारण पञ्चायती शासन ढल्दा र बहुदलीय व्यवस्था लागु हुदाँको बेलामा यिनलाई तथाकथित केहि व्यक्तिहरुबाट दुःख दिने प्रयास यिनको लागि पहिलो खुडकिलो थियो भने द्धन्दको बेला आफु सुरक्षित रहननै गाह्रे परेको थियो । जतिवेला यिनलाई अप्ठेरो र चुनौती आई पर्दथ्यो त्यतिबेला आफनी जीवन संगीनी प्रेम के.सी.को साथ सहयोग र परामर्श रहन्थ्यो । जीवनभर के.सी.को दम्पति एक रथका दुईपांग्राका रुपमा रह्यो । सुर्यबहादुरले हरेक पक्षमा जीवन साथीको साथ, सहयोग र परामर्श जीवनभरी नै चुमी रहे । जीवन संगीनी प्रेम के.सी हरेक क्षेत्रमा एक अव्वल, निडर र साहसीक नारी हुन् । अहिलेको अवस्थामा पनि सबै घरपरिवार उनकै परामर्श र निर्देशनमा परिचालित हुन्छन् ।
एउटा वैभवशाली परिवारमा जन्मिएकी प्रेम के.सी.को जीवनी पनि संघर्षमय रहेको छ । सूर्यबहादुर के.सी.ले बारंबार भन्ने गर्दथे “मेरो सफलताको ठूलो श्रेय जीवन साथीलाई नै जान्छ” । तर आफनो साथबाट श्रीमानलाई दैवले छिनेर लगेपछि आफनो धर्मपत्नीलाई दिनरात मन अमिलो र धमीलो बनाएर बस्नुु परेको छ । वेदना पोख्ने ठाँउ जुन थियो त्यो हावासरी उढेर गयो । केवल संझना मात्रै छ र संझनालाई र वेदनालाई संगसंगै लानु परेको छ प्रेम के.सी.लाई ।
सूर्य बहादुर के.सी. कास्की जिल्लामा मात्रै नभएर राष्ट्रकै लागि एक सम्पदा व्यक्ति थिए । ठूला औद्योगिक उद्यम, विभिन्न व्यवसाय र राष्ट्र सेवाका कारण उनी राष्ट्रको विशेष सम्मानित व्यक्ति बन्न सफल भएका थिए । जीवनभर सामाजिक, राजनीतिक, धार्मिक र विशेषगरी शिक्षाको क्षेत्रमा सेवागर्ने सूर्यबहादुर के.सी.लाई राष्ट्रको मार्गदर्शकको रुपमा लिनुपर्छ । राजनीतलाई धेरैले पेशा र व्यवसाय पनि बनाए, तर सूर्य बहादुर के.सी ले राजनीतीलाई सधै समाज सेवाको रुपमा लिए ।
स्व. राजा वीरेन्द्रका अतिनै मन पर्ने र पोखरामा विकास निर्माणका काम सुरु गरेका के.सी.ले स्व. राजा वीरेन्द्रबाट गो.द.वा. तक्माबाट सम्मानित भएका थिए । उनी आफै विकास प्रेमी भएका र स्व. राजा वीरेन्द्रको ईच्छा अनुसार पनि पोखरा सहर भित्र विकासका कार्यहरु थालनि गरेका थिए ।
राज्यका विभिन्न क्षेत्रमा दान, योगदान र सेवा प्रदान गर्दै आएका के.सी. पोखरा बाहिर पनि सम्मान, बधाई र रथयात्रा पाएका सम्मानित व्यक्तीत्व थिए । माछापुच्छ्रे बैंक पोखराका संस्थापक तथा पूर्व अध्यक्ष समेत रहेका स्व.सूर्य बहादुर के.सी.को स्मृतिमा बैंकले पोखरा नयाँबजारको कार्यालय परिसरमा स्व.के.सी.को अर्धकदको शालीक स्थापना गरेको छ । यो बैक के.सी.कै परिकल्पनामा स्थापना भएको थियो ।
सूर्य बहादुर के.सी.ले पोखरेली समाजलाई जति गुन लगाए गए ती गुन तिरेर कदापी नसकिने र भुल्न पनि नसकिने खालका छन् । आजीवन समाजसेवामा त्यसमा पनि उच्च शिक्षा र धार्मीक क्षेत्रमा करोडौ दान तथा सहयोग गरेका सूर्यबदाुर के.सी. संग मेरो सानै उमेर देखि भावनात्मक तथा नाता संवन्ध पनि जोडिएको हुदाँ मैले उनलाई हृदय देखिनै आदार तथा श्रद्धाभाव राख्ने गर्दथे ।
पोखराको सर्वाङ्गीण भौतिक विकासको लागि लगनशील र मिहिनेत गर्दै आएका सूर्य बहादुर के.सी.ले २०७७ साल कार्तिक १७ गते हजारौलाई धुरुधुरु रुवाउदै मिरमिरे उज्यालो पनि नहुदै ६३ वर्षकै उमेरमा यस संसारबाट अचानक विदा भए । वास्तवमा उनको पोखरेली जनताबाट यति छिट्टै विदा हुने वेला भएकै थिएन । स्वास्थ समस्याका कारण उनको कम उमेरमा स्वर्गारोहण भयो । उनको स्वास्थ्य समस्या मुख्य रुपमा मृगौलाको खराबीको कारणले उब्जेको थियो । दुईपटक सम्म मृगौला प्रतिस्थापन गरिएको थियो । सामान्य रुपमा मधुमेहको समस्या पनि थियो उनलाई ।
तिमिले हामीलाई ज्ञानको धन, सेवाको धन र सामाजिक संस्थाहरुलाई प्रसस्तै दान दिएर गयौ । यस लोकमा छदै मोक्ष प्राप्त गरेर फेरी परमधाम तर्फ प्रस्थान ग¥यौ । परमधाममा पनि पृथ्वीमा पाए जस्तै तिम्रो आत्माले शान्ती र सुख पाइराखोस् । तिमी सूर्यबहादुर मात्रै थिएनौ बरु सहि र सत्य काम गर्ने “सत्यबहादुर” पनि थयौ । सम्मान गर्नु पर्नेलाइ सम्मान गरेर गयौ र ज्ञान दिनु पर्नेलाइ ज्ञान पनि दिएर गयौ । अब भने तिम्रा सेवा गर्ने हातहरु तिम्रो जीवन संगीनी प्रेम के.सी, प्रिय आज्ञाकारी र पितृ भक्त छोराहरु प्रकाश, किरण र रोशन के.सी.का हातहरु बाट प्राप्त भै राखेको छ । समाजमा गर्नु पर्ने धेरै कर्तव्यहरु पुरा गरेर गयौ । नेपाल आमाको मात्र नभएर सारा पृथ्वी माताको सेवा गरेर गयौ । धन्यथियौ तिमी ।
घर परिवार र पोखरेली जनतालाई उज्यालो छाडेर परलोकमा त शुद्ध आत्मा मात्रै लिएर गयौ । आत्मा मर्दैन भनिन्छ, यदि साँचो हो भने तिम्रो आत्माले शान्ति पाइराखोस् । तिमीले समाजलाई दिएको त्याग र योगदान पोखरेली समाजले कहिल्यै भुल्ने छैन । आज परेको चौथो वर्षको स्मृति तथा पुन्य तिथिमा तिम्रो आत्माको चिर शान्तिको कामना गर्दे भावपूर्ण श्रद्धानजली अर्पण गर्दछु ।
