सुरेन्द्र पाण्डेलाई विश्वासको मत : देवकोटाले गरे फ्लोर क्रस

0Shares

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टी (नेसपा)का प्रदेश सभा सदस्य फडिन्द्र देवकोटाले फ्लोर क्रस गरेर विश्वासको मत दिएपछि मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका हुन् । पाण्डेलाई सत्तारुढ नेपाली कांग्रेसका २७ तथा राप्रपाका २, स्वतन्त्र सांसद दीपक मनाङेलेसमेत गरेर ३१ सांसदले विश्वासको मत दिए । सो संख्या प्रदेश सभामा रहेका सदस्यहरुको बहुमत भएकाले पाण्डेले विश्वासको मत पाएको सभामुख कृष्ण धितालले घोषणा गरे ।पाण्डेले मागेको विश्वासको मतको विपक्षमा नेकपा एमालेका २२ र नेकपा माओवादी केन्द्रका ६ सांसद गरेर २८ जना उभिए ।

मुख्यमन्त्री फ्लोर क्रस गरेर विश्वासको मत दिन लागेका बेला फडिन्द्र देवकोटालाई विपक्षी सांसदहरुले रोकने प्रयास गरेका थिए । तर मार्सल लगाएर सो प्रयास असफल पारिएको थियो । मार्सल लगाएर फ्लोर क्रस गर्न दिएको भन्दै उनीहरुले केहिबेर नाराबाजीसमेत गरेका थिए । उनीहरुले दलीय व्यवस्था जिन्दावाद, दल विरोधी गतिविधि मुर्दावाद, ह्वीप उलंघन गर्न पाईंदैन लगायतका नाराहरु लगाएका थिए ।

यसअघि विश्वासको मत माग्दै मुख्यमन्त्री पाण्डेले प्रदेशको स्थायीत्वका लागि आफूलाई विश्वासको मत दिन आग्रह गरे । प्रदेश सरकार अस्थिर बन्दा जनतामा निराशा र असन्तुष्टी बढेको भन्दै उनले भने,‘डेढ वर्षमा चार पटक सरकार फेरबदल हुनुलाई नागरिकले अस्थिरताका रुपमा लिएका छन् । सरकारको नेतृत्व कसले गरेको छ ? कुन पार्टीले गरेको छ ? भन्दापनि प्रदेश सरकारको स्थायीत्व के छ ? प्रदेश संरचनाले कसरी काम गरिरहेको छ भन्ने नागरिकले नजिकबाट नियालिरहेका छन् ।

मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ५ मा पुग्दा संसद विघटन हुने खतरा रहेकोपनि बताए । ‘त्यसैले उपधारा ३ मा बनेको सरकारलाई उपधारा ४ वमोजिम विश्वासको मत दिनूस्’–उनले भने । बरु प्रदेशको स्थायीत्व र समृद्धिका लागि दलभन्दा माथि उठेर पार्टी र नेताहरुलाई एकाकार हुन उनले आग्रह गरे ।

फ्लोर क्रस गरेर विश्वासको मत पाएपछि नेकपा एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले कांग्रेसले सत्ताका लागि संसदको दुरुपयोग गरेको बताए । कांग्रेसलाई सत्ताबाहेक केहिपनि चाहिएको रहेनछ,उनले भने,‘शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला संसदमा प्राडो र पजेरो काण्ड भएको थियो नि । हो त्यो आज गण्डकीमा दोहोरियो ।’ 

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *