२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरु

0Shares

नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्वुले खेलकुद क्षेत्रमा सरकारको लगानीमा रहेका धेरै पूर्वाधारहरु अधुरो रहेको जनाएका छन् ।कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा मंगलबारबाट सुरु भएको “२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८०” को उद्घाटनको क्रममा सो कुरा बताएका हुन् । उनले भने–“म अहिले ४० जिल्लाको भ्रमणबाट फर्किएको छु । ति जिल्लाका खेल पूर्वाधारहरु निर्माण सम्पन्न नहुँदा खण्डहर बन्दै गएका छन् । सरकारको लगानी बालुवामा पानी जस्तै भएको छ । यो चिन्ताजनक विषय हो ।” सरकारले खेल पूर्वाधारहरुको निर्माणका लागि संघिय, स्थानिय, प्रदेश सरकार र निजी क्षेत्रको सहभागितामा प्रतिफल दिने गरी काम अघि बढाउने गरि आफूले समन्वय गरिरहेको बताए ।

उद्घाटन कार्यक्रममा आफ्ना भनाई राख्दै गण्डकी प्रदेशका सांसद प्रकाश बरालले कास्की टेनिसको सुनौलो इतिहासको जति प्रशंसा गरे पनि कम नहुने बताए । उनले कास्की टेनिसलाई सरकारले समेत उच्च प्राथमिकतामा राखी सम्मान गर्नु पर्ने जनाउँदै कास्की टेनिस नेपालको प्रमुख केन्द्रको रुपमा स्थापित रहेको जनाए । इतिहास बोकेको कास्की टेनिसले कार्यक्रम गर्दा होस वा पूर्वाधारको संरक्षणका लागि हात फैलाएर माग्ने अवस्थाबाट मुक्त गर्न सरकारको समेत सहकार्य आवश्यक रहने कुरामा उनले जोड दिए ।

कास्की टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतियोगिताका संयोजक नविन चालिसेले कास्की टेनिसले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन र टेनिस खेलको विकासमा उत्तिकै महत्वपूर्ण योगदान भइरहँदा समेत राज्यको ध्यान यस तर्फ नपुग्दा समस्या आएको उल्लेख गरे । उनले भने–“निजी क्षेत्रले कास्की टेनिसमा उल्लेख्य लगानी गरेको छ । त्यो राज्यका तर्फबाट हुन सकेको छैन । यसमा सहकार्यका लागि म आग्रह गर्दछु ।”

सो अबसरमा गोरखा नेप्लिज टेनिस क्लब युकेका अध्यक्ष हर्कबहादुर गुरुङ, कास्की टेनिसका सचिव नविन श्रेष्ठले समेत आफ्ना भनाई राखेका थिए । यहि पौष १० गतेबाट १५ गते सम्म पोखरा रंगशालाको टेनिस कोर्टमा सञ्चालन हुने प्रतियोगितामा महिला तर्फ १३ र पुरुषतर्फ २०३ गरी २१६ जना खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रतियोगितामा भारत, यूके र बंगालादेशका खेलाडी समेतको सहभागिता रहने उपाध्यक्ष चालिसेले जानकारी दिए । उनले भने–“यो माछापुच्छ्रे टेनिस खेलको इतिहासमा नै सर्वाधिक सहभागिता हो । यसले खेलकुदमार्फत पोखराको पर्यटन प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं ।”

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *