चरकको सहयोगमा दमेक रेडक्रसको स्वास्थ्य शिविर

0Shares

बागलुङ जैमिनीकी चमेली सुनार (नाम परिवर्तित) लाई एउटा मिर्गौला फेल भएको थाहा छ । तर उनले उपचार गर्न सकेकी छैनन् । कमजोर आर्थिक अवस्थाका कारण गाउँमै छिन् । ३३ वर्षीया उनको चार वटा सन्तान छ । रोगले गल्दै गएकी सुनार अहिले निकै खुशी छिन् । पोखराको चरक मेमोरियल हस्पिटलले अब उनको उपचार प्रक्रिया अघि बढाउनेछ ।
नेपाल रेक्रडक्रस सोसाइटी, दमेक उपशाखा बागलुङले गाउँमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा उनी पनि पुगेकी थिइन् । ५ जना चिकित्सकसहित २१ जनाको चरकको टोलीमाझ उनले आफ्नो व्यथा पोखिन् । चरकका प्रबन्ध निर्देशक कपिल पोखरेलले शिविरमै उनको स्वास्थ्यजाँचपछि अब आगामी उपचार पोखरामै हुने बचन दिए ।

जैमिनी २ अवस्थित दमेक स्वास्थ्यचौकीमा सञ्चालित शिविरमा ३२० जनाले भिडियो एक्सरेसहितको सुविधा लिए । आयोजक संस्थाका सभापति होमनाथ सापकोटाका अनुसार साविक दमेकका वडा नं. २ र ३ बासिन्दा लाभान्वित भएका छन् ।
परीक्षणका क्रममा एक जनाको भीआईए पोजिटिभ देखिएको, ३ जनामा १२ एमएमसम्मको पत्थरी मिर्गौलामा देखिएको, ६ जनाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने, ४ वर्षका बालकको आँखाको शल्यक्रिया गर्नुपर्ने भेटिएको छ । उनीहरुको उपचारका लागि पनि चरकले सक्दो सघाउने भएको छ । शिविरमा परीक्षणपछि मात्रै उनीहरु धेरैले आफ्नो रोगबारे पहिलोपटक थाहा पाएका थिए ।

विशेषज्ञसहितको पहिलो पटक सेवा दिएकाले शिविर फलदायी बनेको जिल्ला समन्वय समिति बागलुङका उपप्रमुखसमेत रहेका सापकोटाले बताए । शिविरमा प्रजनन स्वास्थ्य समस्या सम्बन्धी, भीआइए परीक्षण, पाठेघरको भिडियो एक्सरे, पाठेघर तथा स्तन क्यान्सर सहित स्त्री रोग सेवा, बालरोग सेवा, जनरल फिजिसियन सेवा प्रदान गरिएको थियो ।
चरक हस्पिटलका चिकित्सकहरु डा. शरद चन्द्र बराल (कन्सल्टेन्ट फिजिसियन), डा. ओम कुमार श्रेष्ठ (रेडियोलोजिस्ट), डा. विष्णु पालिखे (स्त्रीरोग विशेषज्ञ), डा. किरण शर्मा (बालरोग विशेषज्ञ), डा. सन्देश प्रकाश पराजुली (मेडिकल अफिसर) लगायत सहभागी थिए । चरकले यसअघि गोरखा, म्याग्दी लगायतका स्थानमा पनि पूर्ण सेवा सहितको प्राविधिक सहयोग गरिसकेको छ ।
प्रबन्ध निर्देशक पोखरेलले ग्रामीण भेगहरुमा स्वास्थ्य सेवाको पहुँच अझै राम्ररी नपुग्दा गाउँबासीहरु रोग लागेको थाहै नपाई ज्यान गुमाउनुपर्ने अवस्थामा रहेको भन्दै समयमै रोगको निदान गरी उपचार गराउने हेतु गाउँ गाउँमा हुने यस्ता शिविरमा सहयोग गर्दै आएको बताए । जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङको समन्वय, जैमिनी नगरपालिकाको सहयोगमा कार्यक्रम भएको थियो । रेडक्रस दमेक उपशाखाले अघिल्लो वर्ष आँखा शिविर गर्दा पाँच सय बढी लाभान्वित भएका थिए । 

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *