नेपाली कांग्रेसले सभामुखसहितको हस्ताक्षरको आधारमा खगराज अधिकारीलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेकोप्रति आपत्ति जनाएको छ । सर्वोच्चको आदेश र कोशी प्रदेशको नजिर विपरित सभामुखसहितको हस्ताक्षरमा अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु असंवैधानिक हुने उसको जिकीर छ ।
अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेलगत्तै कांग्रेस सांसदहरुले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई भेटेर ध्यानाकर्षणसमेत गराएको थियो । तर त्यस विपरित अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरिएपछि कांग्रेस सर्वोच्च अदालत जाने तयारीमा छ । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले असंवैधानिक कदमकाबिरुद्ध सर्वोच्च जाने बताए । सभामुखको हस्ताक्षर गलत रुपमा प्रयोग गरिएको छ,उनले भने,‘यसमा सभामुख स्वयम्ले मेरो हस्ताक्षर होईन भनिरहनु भएको छ । यसबिरुद्ध हामी सर्वोच्च जान्छौं ।’
