भारतको राजधानी नयाँदिल्लीसहित उत्तर पश्चिमी राज्यहरूमा मुसलधारे वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ । उत्तराखण्ड, हिमाचल, हरियाणा, पञ्जाब, जम्मु–कश्मिरलगायत ठाउँमा बाढी र पहिरोमा परी कम्तीमा २८ जना मानिसको मृत्यु भएको छ । ज्यान गुमाउनेमा दुई जना भारतीय सैनिक पनि छन् ।
राजधानी नयाँदिल्ली आइतबार सन् १९८२ पछि जुलाई महिनामा २४ घन्टाभित्र सबैभन्दा धेरै पानी पारेको छ । अत्याधिक वर्षाले दिल्लीका सडक डुबानमा परेका छन्। भारी वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै सोमबार दिल्ली र आसपासका क्षेत्रमा विद्यालय बन्द गरिएको छ । उत्तराखण्ड प्रहरीले अत्यावश्यक नभइकन पहाडी क्षेत्रमा यात्रा नगर्न अनुरोध गरेको छ । उत्तराखण्डका केही क्षेत्रमा जुलाई १३ सम्म भारी वर्षाको चेतावनी दिइएको छ ।
सामाजिक सञ्जालहरूमा बाढी र पहिरो बस्तीमा पसेका, सडक र पुल बगाएका भिडिओहरू आइरहेका छन्। तीर्थ यात्रा र घुम्न गएका मानिसहरू विभिन्न ठाउँमा अलपत्र परेका छन् । । दिल्लीमा यमुना नदीले मंगलबार बिहानसम्म खतराको तह पार गर्न सक्ने चेतावनी दिइएको छ ।
