गण्डकीका यातायात कार्यालयमा हेल्प डेस्क राख्ने निर्णय

0Shares

गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले प्रदेश मातहतका सबै यातायात व्यवस्था कार्यालयमा सेवाग्राही सहायता कक्ष स्थापना गर्ने निर्णय गरेका छन् । मन्त्रीको शपथ लिएपछि सोमबार पदभार ग्रहण गर्दै उनले मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालयहरुमा सेवाग्राही सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्न परिपत्र गर्ने निर्णय गरेका हुन् ।

गण्डकी प्रदेश सरकार मातहत कास्कीमा दुई, नवलपुर, बागलुङ र तनहुँमा एक÷एक गरेर पाँच वटा यातायात व्यवस्था कार्यालय छन् । यातायात कार्यालयमा सेवाग्राहीको चाप बढी हुने तर सेवा लिन जाँदा हुने अन्योलको स्थिति अन्त्य गर्न यो निर्णय गरेको मन्त्री केसीले बताए ।अत्यावश्यक बाहेक भेला, समारोह, गोष्ठीजस्ता काममा धेरै नलाग्ने योजना मन्त्री केसीले बनाएका छन् । उनले मन्त्रालयको समयमा मन्त्रालयको नियमित काम छोडेर अत्यावश्यक बाहेकका कार्यक्रममा नजाने निर्णय पनि गरेका छन् ।

उनले आफू मातहतका कार्यरत कर्मचारी संयन्त्रलाई समयमै आयोजना सक्ने गरेर काम गर्न निर्देशन दिएका छन् । ‘भौतिक पुर्वाधार प्रदेशको विकासको मेरुदण्ड हो । राम्रा सडक, पुल, बाटोघाटो नभई प्रदेशको समृद्धि हुँदैन भन्ने मेरो विश्वास छ,’ मन्त्रालयका कर्मचारीलाई उनले भने, ‘अतः समयलाई खेर नफाली आफूलाई सुम्पिएको कार्यलगायत प्रभावकारी रुपमा निर्धारित समय नकट्ने गरी कार्यसम्पादन गर्न म निर्देशन दिन्छु ।’ प्रदेशलाई नेपालको नमुना प्रदेश बनाउन प्राविधिक, निर्माण व्यवसायी सहित सबैको साथ आवश्यक रहेको मन्त्री केसीको भनाइ थियो । काम गर्दा एक पक्षले अर्को पक्षलाई दोषारोपण नगरी समन्वय गर्न मन्त्री केसीले आग्रह गरे ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *