पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासा फाउण्डेशनको मुख्य सहयोगमा पोखरामा पाँचौं संस्करणको ब्रेकिङ्ग बाउण्ड्रिज अन्तर विद्यालय छात्र–छात्रा टी–२० क्रिकेट प्रतियोगितामा ग्रुप ‘डी’ का विभिन्न खेलहरु जारी रहेका छन् । पोखराका विभिन्न खेल मैदानमा प्रतियोगिताहरु भइरहेका छन् । यसअघि ग्रुप ए, बी र सी अन्तर्गतका विभिन्न प्रतिस्पर्धाहरु भइसकेका छन् । ग्रुप डी को खेल सकिएसंगै अंक तालिकाको आधारमा सेमिफाइनल पुग्ने विद्यालयहरुको पनि टुंगो लाग्ने आयोजक समुहका अध्यक्ष बबिन कुँवरले जानकारी दिनुभयो ।

प्रतियोगिताका शनिबार भएको छात्रातर्फको खेलमा भद्रकालीले नव उमनलाई ६ विकेटले पराजित गरेको छ । नव उमनले दिएको ५७ रनको लक्ष्य ८ ओभरमा ४ विकेट गुमाएर प्राप्त गर्दै भद्रकालीले जित हाँसिल गरेको हो । त्यस्तै, छार्ततर्फ भएको खेलमा भद्रकालीमाथि नवप्रभातले जित निकालेको छ । पहिला व्याटिङ गरेको नवप्रभातले २० ओभरमा १० विकेट गुमाएर १ सय १६ रन बनाएको थियो । जसमा निरजले २५ तथा अनिसले १७ रन बनाए । भद्रकालीका विश्वासले ३ विकेट लिएका थिए । भद्रकालीको पारी भने ७८ रनमै समेटिदा उ फराकिलो अन्तरले पराजित हुन पुगेको हो ।
अर्को खेलमा कम्युनिटी सेण्टरले शुक्रराज माविलाई १० विकेटले पराजित गरेको छ । पहिला व्याटिङ गरेको शुक्रराजले ५५ रन बनाउँदा बिनेश विकले १४ रनको पारी खेले । कम्युनिटी सेण्टरले कुनै पनि विकेट नगुमाई जित हाँसिल गर्दा ओपनर सम्राटले १२ बलमा १७ रन जोडेका थिए ।
