कोटिहोममा भोलि गायिका समीक्षा अधिकारी आउँदै

0Shares

पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि शुक्रवार चर्चित गायिका पोखरेली चेली समीक्षा अधिकारी र शनिवार चर्चित लोकगायक पशुपति शर्मा,  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालको भजन प्रस्तुति तथा विशेष साङ्गीतिक कार्यक्रम प्रस्तुत रहने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनका अनुसार आइतबार लोकदोहोरी गायिका अस्मीता ढल्लाकोटीको पनि सहभागिता रहने छ।

कोटिहोममा जेठको पहिलो हप्ता राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक पब्लिक स्पीकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद्  डा. तुलसी प्रभास खनालले जानकारी दिए । उनका अनुसार देशभरबाट कक्षा ८ देखि १२ सम्मका विद्यार्थी उक्त वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । एसईई तथा कक्षा ११ को परीक्षा दिएका विद्यार्थी पनि प्रतियोगिता सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा  प्रथम हुनेलाई ५१ हजार १ सय ५१, द्वितीय हुनेलाई ४१ हजार १ सय ४१, तृतीय हुनेलाई ३१ हजार १ सय ३१ र सान्त्वना हुनेलाई २१ हजार १ सय २१ र विविध सम्मान गरिने छ ।

कोटिहोममा यही वैशाख २७ गते शनिवार १ हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ ।  उक्त अवसरमा  तीनदेखि नौ वर्ष उमेर समूहका १ हजार बढी कन्या सहभागी गराएर पूजा गर्ने तयारी भइरहेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । संयोजक ढकालका अनुसार ७० वर्षभन्दा माथि उमेर पुगेका १ हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्ने तयारी भएको छ ।

कोटिहोममा यही वैशाख २९ गते चौरासी पूजन कार्यक्रम गरिने भएकाले आमाबुवाहरूको उपस्थितिमा, सवा करोड पार्थिव शिवलिड्डको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त  गर्ने महत्त्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमद्भागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवद मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमिनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्त्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

त्यसै गरी पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने,  वैवाहिक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लुघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन्। पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसन व्यवस्थापक विष्णु थापाले जानकारी दिए । कोटिहोममा पवित्र कर्मकाण्ड र धार्मिक विधिअनुसार विधिपूर्वक सामूहिक व्रतबन्ध भएको छ ।

कोटीहोममा सात दिन प्रवचन दिनका लागि वैशाख २८ देखि जेठ ३ गतेसम्म वाचन प्रवीण पं. दिनबन्धु पोखरेल,  जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुने महायज्ञ मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *