नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ । देशका कतिपय स्टेशनमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन भएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले वर्षा गराउने प्रणाली नभएको तथा स्थानीय र पश्चिमी वायुको प्रभावले तापक्रम बढेको बताए ।उनले तराई क्षेत्रमा ४० डिग्रीभन्दा माथि तापक्रम पुगेको र अझै बढ्न सक्ने जानकारी दिए । “तापक्रम निरन्तर बढिरहेको छ । बिहीबार देशका आठ स्टेशनमा ४० डिग्री तापक्रम पुगेको थियो ।
अहिले पनि तीनरचार स्टेशनमा ४० डिग्री कटेको देखिन्छ । तराईका लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा निरन्तर तापक्रम बढिरहेको छ”, उनले भने । कपिलवस्तुको तौलिहवा र नेपालगञ्ज, बाँकेको खजुरालगायतका स्थानमा तापक्रम ४० डिग्री कटेको छ । मानन्धरका अनुसार नेपालमा हालसम्म सन् १९९५ जुन १६ मा ४६ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । उक्त तापक्रम हालसम्मकै उच्च हो । काठमाडौँमा सन् ७ मे १९८९ मा अधिकतम तापक्रम ३६ दशमलव ६ डिग्री पुगेको थियो ।
