पोखरामा शनिबार खुल्ला राष्ट्रिय साइकल दौड प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा भाग लिनका लागि नेपाल आर्मी, सशस्त्र सहित देशैभरका चर्चिच साइकलिष्टहरु पोखरा आएका छन् । केहि अन्र्तराष्ट्रिय खेलाडीहरु फनका लागि पनि सहभागि हुने बताइएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार तेस्रो पोखरा राष्ट्रिय साइकल दौड प्रतियोगिता हुन लागेको हो । पोखरा महानगरपालिका १७ को कार्यालय र कास्की जिल्ला साइक्लिङ संघको सहआयोजना तथा व्यवस्थापनमा साइक्लिङको माध्यमबाट खेल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महिला, पुरूष र रन फर फन गरेर तीन विधामा प्रतियोगिता सञ्चालन हुने समितिका अध्यक्ष दीपकबहादुर गोदारले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताको सबै तयारी सकिएको उनले बताए । प्रतियोगिताको रूट पोखरा–१७ र पोखरा–२१ मा पर्ने गरेर तय गरिएको सहआयोजक कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले बताए । उनकाअनुसार पुरूषतर्फ २८ किलोमिटर र महिलातर्फ २० किलोमिटरमा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।
पोखरा–१७ पावरहाउसबाट शनिबार बिहान प्रतियोगिता सुरू हुनेछ । पावरहाउसबाट सुरू हुने दौड महतगौँडा–दोबिल्ला झोलुङ्गे पुल हुँदै पोखरा–२१ फेदीपाटन–खस्र्याङ–निर्मलपोखरी–फेदीपाटन–दम्सादी हुँदै पावरहाउस आएर टुंगिने छ । प्रतियोगितामा एक सय जना खेलाडी सहभागी हुने आयोजकको अनुमान छ । प्रतियोगितामा सहभागी खेलाडीको ५ लाख रूपैयाँ बराबरको बीमा आयोजकले गरेको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने महिला–पुरूष खेलाडीले क्रमशः ५०/५०, ३०/३० र २०/२० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाउने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । चौँथो र पाँचौ हुनेले क्रमश ः १० हजार र ५ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा सहभागी हुने पोखरा महानगरपालिकाभित्रका खेलाडी जसले दूरी सुरूमा पार गर्छ उसले पोखरा च्याम्पियनको उपाधि प्राप्त गर्नेछ । उपाधिसहित खेलाडीलाई १० हजार रूपैयाँ, मेडल र प्रमाणपत्र दिइने सदस्य सचिव खड्काले बताए ।
प्रतियोगिताको सहआयोजक पोखरा महानगरपालिका–१७ कि वडाध्यक्ष राधिका शाही योगीले पर्यटकीय राजधानी पोखरा भन्ने नारालाई सफल पार्न यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका हुने बताइन् । स्वस्थ हुन खेलकुद आवश्यक रहेकाले वडाले विभिन्न खेल प्रतियोगिता गरेर स्वस्थ नागरिक र खेलाडी उत्पादनमा ध्यान दिएको उनको भनाइ थियो ।
समितिका अध्यक्ष दीपकबहादुर गोदारले आफूहरूले यो दोस्रो राष्ट्रिय प्रतियोगिता गर्न लागेको तर ग्रास रूटबाटै खेलाडी उत्पादनमा जोड दिएको सुनाए । ‘हामीले १० वटा ग्रासरूट प्रतियोगिता ग¥यौँ । यो भनेको विद्यालयसँग जोडिन्छ जहाँबाट खेलाडी उत्पादन हुन्छ,’ उनले भने, ‘साइकल दौड दोस्रो राष्ट्रिय प्रतियोगिता हो । यसअघि मुआथाइको राष्ट्रिय प्रतियोगिता गरेका थियौँ ।’ जेठ १५ भित्र खेलकुद विकास समितिले चालु आर्थिक वर्षको सबै खेल गतिविधि सक्ने गरेर बाँकी रहेका खेललाई समय तालिका बनाएर खेल महोत्सव गरिरहेको उनले बताए ।
