फेवा नववर्ष महोत्सवमा पर्यटन, संस्कृति र खानालाई विशेष जोड

0Shares

यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखरामा आयोजना हुने १९ औं फेवा नव बर्ष महोत्सवमा पर्यटक र स्थानीय आगन्तुक गरी तीन लाखले सहभागिता जनाउने अनुमान गरिएको छ । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर होटल संघ पोखरा नेपालले स्थानीय ड्यामसाइड चोकदेखि खहरे चोकसम्म सडकमा नै आयोजना गर्ने महोत्सवलाई भव्य बनाउन तयारीलाई तिव्रता प्रदान गरिएको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
नेपाली मौलिक संस्कृतिको संरक्षण गर्ने र कोभिड १९ बाट नराम्रो गरी प्रभावित भएको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने उद्धेश्यले आयोजना हुने महोत्सवमा सांस्कृतिक झाँकी, पंचै बाजा, दोहोरी, नाचगानका कार्यक्रम, कन्सर्ट र पर्यटक दौड समावेश हुने संयोजक सुवेदीले उल्लेख गरे । पोखरा पर्यटकीय राजधानी घोषणा भएको खुसियाली र नयाँ वर्षलाई उल्लासपूर्ण बनाउन संघ अन्तर्गतका होटलहरुले पाहुनालाई २० प्रतिशत सम्म छुट प्रदान गर्ने पनि उनले स्पष्ट पारे । अन्य व्यवसायीले समेत आफ्ना सेवा सुविधामा भारि छुट प्रदान गर्ने सुवेदीले बताए ।

पोखरा र वरपरका एक हजार दुई सय होटलमा ४० हजार विस्तारा रहेको, होटल संघ अन्तर्गत मात्र चार सय ४७ होटल रहेको, लेकसाइड र ड्यामसाइड एरियामा सात सय होटल रहेको र पोखराको पर्यटन क्षेत्रमा १५ हजार जनाले रोजगारी पाएको पनि अध्यक्ष सुवेदीले तथ्यांक सुनाए । अहिले पोखराको होटलहरुमा ५० देखि ६० प्रतिशत हाराहारीको अकुपेन्सी रहेको पनि उनले जानकारी दिए ।

होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले संघले पछिल्लो पटक निश्चित चौरमा नभई सडकमा नै महोत्सव आयोजना गर्न थालेपछि सहभागिता जनाउने पर्यटक र आगन्तुकको भीड क्रमशः बढ्दै गएको बताए । नेपाली नयाँ बर्षका अवसरमा पोखरा घुम्न आउने पर्यटक संख्या पछिल्ला बर्षहरुमा बढ्दै गएको र अहिले भारतीय पर्यटक संख्या समेत बढेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

सरकार माओवादी द्वन्द्वको समयमा होटल संघले यो महोत्सवको सुरुवात गरेर नमुना कार्य गरेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निमित्त प्रमुख नवीन पोखरेलले बताए । संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले धन्यवाद ज्ञापन गरेको पत्रकार सम्मेलनको संचालन संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए । नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले महोत्सवलाई प्रवद्र्धन गरेका छन् । गोर्खा व्रुअरी प्रालि महोत्सवको मुख्य प्रायोजक हो । गण्डकी प्रदेश सरकार, पोखरा पर्यटन परिषद् र होटल संघ नेपालले महोत्सवलाई सघाउने छन् ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *