२६ औं पोखरा सडक महोत्सवको तयारी : रेवान आवद्ध सदस्य एवं प्रायोजकहरुसंग छलफल

0Shares

‘सडकमै खाउँ,सडकमै रमाउँ, सडकमै नाचौँ¨ भन्ने मूल नाराका साथ पोखरा सडक महोत्सवको आयोजना गर्दै आएको रेवान पोखरा यतिबेला २६ औँ संस्करणको पोखरा सडक महोत्सव गर्ने तयारीमा जुटेको छ । यसपटकको सडक महोत्सव सफल पार्न आयोजकले आफ्नै संस्थामा आबद्ध रेस्टुरेन्टका सञ्चालकहरूसँग सल्लाह सुझाव लिँदै महोत्सवको तयारी थालनी गरेको छ । रेवान पोखराले बुधबार संस्थामा आबद्ध सदस्य तथा पोखरा सडक महोत्सवका मुख्य प्रायोजक, सह प्रायोजक एवं सहयोगीहरूसँग अन्तरक्रियात्मक छलफल सम्पन्न गरेको हो ।


छलफलमा सहभागीहरूले पोखरा सडक महोत्सव नेपालकै एक पृथक महोत्सव भएकाले यसलाई थप व्यवस्थित पारिनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै महोत्सवका संयोजक समेत रहेका रेवान पोखराका द्वितीय उपाध्यक्ष विकास भट्टराईले महोत्सवमा यसपटक हुने आकर्षणका बारेमा प्रकास पारेका थिए । उनले सडकमा विभिन्न खानाका परिकार, सांगीतिक कार्यक्रम, लेकसाइडका विभिन्न स्थानहरूमा स्टेज निर्माण, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम लगायत रहने जानकारी गराएका थिए । त्यसैगरी महोत्सवको मुख्य स्थल कोमागाने पार्कमा मुख्य स्टेज बन्ने,त्यहीँ लाइभ ब्यान्ड सँगै विभिन्न स्टलहरू रहने बताएका थिए ।

रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले फिस्टेल गेटदेखि अम्मट, गौरीघाट,हल्लनेचोक गैह्राको चौतारा तथा पूर्वतर्फ जरेवरसम्म झण्डै चार किलोमिटर क्षेत्रभित्र महोत्सवको आयोजना गरिने बताए । छलफल कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष नरेश भट्टराईले पोखरा सडक महोत्सवका प्रायोजकहरु गोर्खा बुअरी, वरुण बेभ्रेजको पेप्सी, खुकुरी रम लगायतले विगतदेखि गर्दै आएको सहयोगले आगामी वर्षहरूमा पनि निरन्तरता पाउने अपेक्षा प्रकट गरे । सहयोगीलाई सहयोगलेनै गुण तिर्नुपर्ने भट्टराईको भनाइ थियो ।

सल्लाहकार समितिका संयोजक गणेशबहादुर भट्टराईले २६ औँ संस्करणसम्म आइपुग्दा पोखरा सडक महोत्सवले अन्तर्राष्ट्रिय स्तरमा पोखराको छुट्टै पहिचान बनाउन सफल भएको भन्दै यसको निरन्तरताका लागि व्यवसायिक एकता आवश्यक पर्ने बताए । संस्थाका महासचिव वीरेन्द्र शेरचनले कार्यक्रम सञ्चालन गर्दै २६ औँ संस्करण सफल पार्न आम पोखरेलीहरुलाई आग्रह गरेका थिए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *