खानेपानी संस्थानलाई आर्थिक रुपमा बलियो बनाउन आवश्यक : महर्जन

0Shares

नेपाल खानेपानी संस्थान इन्जिनियरिङ महाशाखा प्रमुख ई. निरण महर्जनले संस्थानलाई आर्थिक रुपमा बलियो बनाउनु पर्ने समय आएको बताएका छन् । नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराको ३३ आंै वार्षिकोत्सव तथा राष्ट्रिय धान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै कृषि संस्कारलाई कर्मचारीले भुल्न नहुने बताउँदै चुहावट नियन्त्रण तथा मितव्ययिता मार्फत् संस्थानलाई सक्षम बनाउनु पर्ने बताए ।

महाशाखा प्रमुख महर्जनले व्यवस्थापनलाई दवावको निरन्तर आवश्यक हुने भन्दै क्रियाशील युनियन एकजुट भएर करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको हितमा लाग्न आग्रह गरे । सेवा प्रदायक संस्थाको हित गर्न लगानी अनुरुप महशुल निर्धारण हुन आवश्यक रहेको बताएका महर्जनले कानुनमा विधि र प्रक्रियालाई स्थापित गर्न सकेमात्र विनियमावलीले सर्वोपरि हित गर्न सक्नेमा जोड दिएका थिए । नेपाल खानेपानी संस्थान कर्मचारी संघ, इकाई समिति पोखराका अध्यक्ष अनिल शर्मा सुवेदीको अध्यक्षतामा भएको सभामा नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्माले योगदानको सम्मान गर्ने सस्कृतिलाई निरन्तरता दिएकोमा कर्मचारी संघलाई धन्यवाद दिँदै दुःख र सुखमा आफू दृढ भएर सेवा गर्न तयार रहेको धारणा राखेका थिए ।

नेता शर्माले लेखेरमात्र श्रमिकका समस्या समाधान नहुने भन्दै व्यवस्थापनले दीगो र दीर्घ समस्यामा ध्यान दिन सक्नु पर्नेमा जोड दिए । शुभकामना आदान प्रदान सभामा सम्वोधन गर्दै नेपाल खानेपानी संस्थान कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष केदार धमलाले कार्यक्रमको निरन्तरतालाई ध्यान दिएकोमा इकाई समितिलाई धन्यवाद दिँदै कर्मचारीका अनेकन समस्यामा आफू चट्टानी अडान लिएर उभिनेमा जोड दिए । उनले संशोधन गर्नु पर्ने कर्मचारी सेवा शर्त विनियमावलीलाई छिटो भन्दा छिटो प्रक्रिया थाल्न व्यवस्थापनलाई आग्रह गर्दै कर्मचारी संघले विभिन्न १७ बुँदे सुधार पेश गरिसकेको बताए । धमलाले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा लैजान ढिलाई भएकोमा आपत्ति जनाउँदै साउन १ गतेदेखि लागु हुनेगरी श्रमिकलाई अनुबन्ध गराउन व्यवस्थापनलाई आग्रह गरे ।

इकाई सदस्य लोकबहादुर घलेले सञ्चालन र कोषाध्यक्ष सिमाना केसीले स्वागत गरेको सभामा नेपाल सार्वजनिक सेवा कर्मचारी संघ कास्कीका उपाध्यक्ष लक्ष्मी पहारीले टेलिकममा पनि श्रमिकका समस्या रहेको भन्दै सवै मिलेर समस्या समाधान गर्नु पर्नेमा जोड दिइ्न । कर्मचारी संघले नेपाल खानेपानी संस्थान पोखरा शाखाबाट सेवा निवृत्त भएका कर्मचारी शिवराज भण्डारी, कृष्णबहादुर कोईराला र लिलानाथ गौतमलाई कदरपत्र र दोसल्लाले विदाई गरिएको थियो । सभामा कर्मचारी संघका सल्लाहकार एवं प्रशासन प्रमुख विष्णुप्रसाद रेग्मीले असारे पन्ध्र र दहिच्युराको महत्व दर्शाउँदै रित्तो हात लिएर घर फर्कने कर्मचारीको पीडा वुझ्न व्यवस्थापनलाई आग्रह गरेका थिए । कार्यक्रममा नेपाल खानेपानी संस्थान कर्मचारी संगठनका महासचिव वसन्तराज भण्डारीले संघको नियमित कार्यक्रमले शाखामा कर्मचारीबीच भाईचारा बढाएको भन्दै संस्थानको हरेक समस्यामा संगै लड्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा नेपाल खानेपानी संस्थान विरगञ्जबाट सरुवा आएका भगवती भण्डारी र बनेपाबाट सरुवा आएका राकेशराज रायलाई इकाई समितिको सदस्यमा मनोनित गरि कार्यक्रममा जिम्मेवारी प्रदान गरिएको कर्मचारी संघका इकाई सदस्य प्रतिमा शर्माले जानकारी दिएकी थिइन् । सभामा खानेपानी संस्थान, हेम्जा शाखाका कार्यालय प्रमुख सन्तोष कुमार दास, नेपाल खानेपानी संस्थान पोखरा तथा हेम्जा शाखाका लेखा प्रमुख पुष्पराज जोशी, नेपाल खानेपानी संस्थान गौर शाखाका कार्यालय प्रमुख प्रकाश सिलवाल, विन्ध्यवासिनी इकाई प्रमुख लक्ष्मण पाण्डे, विन्ध्यवासिनी इकाईका प्रशासन प्रमुख रुककुमार श्रेष्ठ, नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका कार्यालय सचिव अनिता देवकोटा लगायतले शुभकामना दिएका थिए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *