गण्डकीमा कोटिहोममा  १ हजारभन्दा बढी कन्या पूजन र ज्येष्ठ नागरिक सम्मानित

0Shares

पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार भक्तजनको सहभागिताले आयोजकलाई उत्साहित बनाएको छ । कोटिहोममा देशभर भरबाट आएका भक्तजनले महायज्ञ स्थल खचाखच भएको थियो । जसले गर्दा आयोजकलाई महायज्ञमा उपस्थित भक्तजन व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो। भक्तजनको भिडलाई आयोजकले कुशलता पूर्वक व्यवस्थापन गरेको थियो ।  कोटिहोममा शनिबार प्रख्यात साधु सन्तको प्रवचन र नेपालका ख्याति प्राप्त कलाकारको प्रस्तुतिले पनि भक्तजनको उपस्थिति उल्लेख्य रहेको थियो । दैनिक रुपमा महायज्ञमा हुने विधिन्न धार्मिक गतिविधि तथा राष्ट्रिय स्तरका कलकारहरुको प्रस्तुतिले पनि भक्तजनको आगमलनाई वढाएको छ ।  

कोटिहोममा शनिबार नै  १ हजार भन्दा बढी कन्या सहभागि गराएर पूजा गरिएको छ । कोटिहोममा तीनदेखि नौ वर्ष उमेर समूहका १ हजार बढी कन्या सहभागी गराएर पूजा गरिएको हो ।   साथै ७० वर्षभन्दा माथि उमेर पुगेका १ हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई समेत सम्मान गरिएको छ । कोटिहोममा चर्चित लोकदोहोरी गायक पशुपति शर्माको भजनबाट दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए । उनीसँगै  लोकदोहोरी गायिका अस्मिता डल्लाकोटि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालको भजन तथा विशेष सांगितिक कार्यक्रम सहित भजन मार्फत ज्येष्ठ  नागरिक लगायत भक्तजन छमछम नाचेका थिए ।
 
महायज्ञका संकल्पकर्ता, वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिले श्रद्धा, समर्पण र भक्ति भावले कोटिहोममा विशेष भएको जानकारी गराउदै वैदिक विधिपूर्वक आहुति अर्पण गर्दै धर्म, संस्कार र सामाजिक चेतनाको सन्देश दिए ।   ७० वर्षभन्दा माथि उमेर पुगेका १ हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मानले सामाजिक उत्तरदायित्व र समर्पणको भावनालाई बलियो बनाएको उनको भनाई थियो । महायज्ञको मूल उद्देश्य समाजमा धार्मिक जागरण, संस्कारको प्रवद्र्धन र मानव कल्याण गर्नु रहेको छ’ उनले भने, ‘महायज्ञले आध्यात्मिक ऊर्जा प्रदान गर्दै समाजलाई एकजुट गरी सकारात्मक सोचको विकास पनि गराउँछन् ।’  उनले कोटिहोममार्फत वातावरणीय शुद्धता, मानसिक शान्ति र आत्मिक उन्नति सम्भव रहेको बताए ।
 
उनको आह्वान थियो–‘धर्मको मूल मर्म बुझेर जीवनमा सदाचार, सेवा र सद्भाव अपनाऔँ ।’ हजारौं श्रद्धालुहरूको उपस्थितिमा गरिएको उनको मन्तव्य भक्तजनको मन लोभ्याएको थियो । यो धार्मिक अनुष्ठानले सम्पूर्ण समाजमा धार्मिक चेतना र मानवीय मूल्य विस्तार गर्न महत्वपूर्ण योगदान दिएको छ।
 
कोटिहोममा जेठको पहिलो हप्ता राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद्  डा. तुलसी प्रभास खनालले जानकारी दिए । उनका अनुसार देशभरबाट कक्षा ८ देखि १२ सम्मका विद्यार्थी उक्त वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । एसइई तथा कक्षा ११ को परीक्षा दिएका विद्यार्थी पनि प्रतियोगिता सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा  प्रथम हुनेलाई ५१ हजार १ सय ५१, द्वितीय हुनेलाई ४१ हजार १ सय ४१, तृतीय हुनेलाई ३१ हजार १ सय ३१ र सान्त्वना हुनेलाई २१ हजार १ सय २१ र विविध सम्मान गरिने छ ।
 

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *