पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा विभिन्न जात जातिका झाकी प्रदर्शन हुने छ ।कोटिहोममा धर्मसँगै नेपालका विभिन्न जातजातिको संस्कृतिलाई उजागर गर्ने उद्देश्यका साथ झाकी प्रदर्शन गरिएको हो । हुन पनि कोटिहोममा आफ्नो जातीय संस्कृति प्रस्तुत गर्न पाइने र सगसगै ऐतिहासिक कोटिहोमको दर्शन गर्न पाईन भएकाले पनि देशभरबाट विभिन्न जातजातिहरू आफ्नो झाकी सहित कोटिहोममा आउने गरेको आयोजकले जनाएको छ ।
यसैबिच जेठ ४ गते आइतबार नवलपुरबाट १ सय भन्दा बढी थारुहरूले आफ्नो विशेष प्रस्तुति लिएर आउन लागेको सांस्कृतिक झाकी प्रस्तुति संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा. तुलसी प्रभास खनालले जानकारी दिए । उनका अनुसार कोटिहोममा सहभागी हुन आउने थारुहरूले लाठी नाच, झमटा, झुमरा लगायतका झाकी सहितको नृत्य प्रस्तुत गर्ने छन् ।
त्यसै गरी जेठ १० गते शनिवार दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारिबाट स्थानीय जात जाति बाजा गाजा सहित झाकी प्रस्तुत हुने छ । उनीहरूले कोटिहोम विशेष गरी त्यहाँको थाली नृत्य प्रस्तुत गर्ने खनालले जानकारी दिए । ‘कोटिहोममा देशभरबाट विभिन्न जात जातिले आफ्नो संस्कृति प्रस्तुतसँगै कोटिहोम दर्शन गरेका छन्’ खनालले भने– ‘धर्मसँगै विभिन्न जात जातिको संस्कृतिलाई उजागर गर्ने थलो कोटिहोम वनेको छ ।’
महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीले जेठ ३ गते शनिवार देशभरबाट ५ सय बढी बसमा कोटिहोममा भक्तजनको आगमन हुन लागेको जानकारी दिए । उनका अनुसार २०८३ सालको अन्तिम तिर पनि पोखरामा महायज्ञ हुनेछ जुन महायज्ञमा १ हजार भन्दा बढी धार्मिक संघ संस्था पनि सामेल हुनेछन् ।
उनले कोटिहोम महायज्ञ पश्चात् पनि नियमित पोखरामा कार्यक्रम गर्न आश्रम स्थापना र मानस सेवा फाउन्डेसनको प्रदेश र जिल्ला समिति घोषण हुने बताए । कोटिहोममा आज चर्चित गायिका एलिना चौहान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालको पनि प्रस्तुति रहने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
कोटिहोममा जेठ २ गते लोकदोहोरी गायिका पूर्णकला बिसी, ३ गते देउडा गायक नन्द कृष्ण जोशी, ४ गते भजन गायक रमेश सापकोटा, ५ गते लोकदोहोरी गायक राजु ढकाल, ६ गते हास्य कलाकार मेरी वास्यैकी पल्पसा डङ्गोल ‘चम्सुरी’ र २४ गते महानायक राजेश हमालको सहभागिता रहने प्रचार प्रसार संयोजक ढकालले जानकारी दिए ।
