गण्डकी प्रदेशका मुख्यमन्त्रीको निवासमा आगजनी गरेको अभियोजनमा एक जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले रुपन्देही तिलोत्तमा नगरपालिका–४ घर भई हाल पोखरा महानगरपालिका–७ राष्ट्रबैंकचोक बस्ने २२ वर्षीय संजोक थापालाई पक्राउ गरी अनुसन्धान प्रकृया अघि बढाएको छ ।
पोखरा महानगरपालिका–१७ सहिद चोकमा रहेको उक्त निवासमा गत भदौ २३ र २४ गतेको आन्दोलन, तोडफोड र आगजनी घटना पछि थापा फरार रहेको प्रहरीले जनाएको छ ।थापाले सहिदचोक क्षेत्रतर्फको पर्खालबाट निवासभित्र प्रवेश गरी जल्न बाँकी रहेका सामान राखिएको कोठामा आगजनी गरेको खुलेको छ । जेनजी आन्दोलनका क्रममा जलाइएका सामान सोही निवासको एक कोठामा राखिएको अवस्थामा फेरि आगजनी गराएको प्रहरीले जनाएको छ ।
थापालाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । उहाँलार्ई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताउनु भयो ।
अनुसन्धानका क्रममा थापाले पोखरा राष्ट्र बैंक चोकनजिकै रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको एटिएम मेसिनमा ढुंगामारा गरी स्क्रिन तोडफोड गरी बैंक सम्पत्तिमा क्षति पु¥याएको तथ्य पनि खुलेको प्रहरीले उहाँले जनाउनु भयो । प्रहरीका अनुसार थापाविरुद्ध आगजनी तथा सार्वजनिक सम्पत्तिमा क्षति पु¥याएको अभियोगमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।
