मनाङको ताल गाउँमा बाढी सचेत साइरन जडान

0Shares

मनाङको नासोँ गाउँपालिका–१ तालगाउँमा मर्स्याङ्दी नदी तटीय क्षेत्रका बासिन्दालाई प्राकृतिक विपद्बाट बचाउन मानव विकास तथा सामुदायिक सेवा केन्द्रले बाढीसम्बन्धी सूचना दिने साइरन जडान गरेको छ । गाउँपालिका र एचडिसिएसको सहकार्यमा रु २६ लाखको लागतमा तालगाउँमा साइरन जडान गरेपछि स्थानीय विपद्बाट बच्ने भन्दै खुसी भएका छन् ।

विसं २०७८ असार १ मा मनाङमा भीषण वर्षा भयो । वर्षासँगै आएको बाढीले मर्स्याङ्दी नदी किनारका कैयौँ स्थानीयलाई घरबारविहित बनायो । बाढीले क्षतिग्रस्त भएपछि लामो समयसम्म गाउँले पालमुनि बस्न बाध्य भएका थिए । बाढीले सबैभन्दा बढी नासोँ गाउँपालिका–१ ताल गाउँमा क्षति पु¥याएको थियो । नासोँ–१ का वडाध्यक्ष मीनरासी गुरुङका अनुसार तालगाउँमा ६३ परिवार छन् । मस्र्याङ्दी नदी किनारसँगैको बस्ती भएकाले यहाँका अधिकांश घरमा बाढी पसेको थियो । पटकपटक बाढी आउँदा लाखौँको धनमाल गुमाएका तालगाउँवासीले अब विपद् आउनु पूर्व सूचना पाउने भएपछि खुसी भएका हुन् ।

वडाध्यक्ष मीनरासी गुरुङले साइरन जडानपछि वर्षाको समयमा गाउँले ढुक्कसँग निदाउन पाउने भएको भन्दै खुसी व्यक्त गरे । लमजुङसँग सीमा जोडिएको तालगाउँलाई विपद्बाट जोगाउन पूर्व सूचना दिने साइरन जडान गरिएको एचडिसीएसका मनोसामाजिक परामर्शदाता शोभा ठकुरीले जानकारी दिए । उनका अनुसार नासोँ–८ को धारापानीमा राखिएको एक यन्त्रले मर्स्याङ्दी नदीमा पानीको सतह मापन गर्नेछ ।

स्वचालित उक्त यन्त्रले मर्स्याङ्दी नदीमा खतराको सतह पार गरेको सङ्केत गर्नासाथ साइरन बज्न थाल्ने ठकुरीले बताए । साइरन तालगाउँभरि सुनिने गरी राखिएको छ । साइरनसँगै खतराको सङ्केतको सूचना मोबाइल एसएमएसबाट पनि जाने प्रबन्ध गरिएको उनले उल्लेख गरे ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *