रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराको आयोजनामा हुने २७ औं पोखरा सडक महोत्सवका लागि संयोजक तथा सह–संयोजक चयन गरिएको छ । समितिको बिहीबार बसेको बैठकले महोत्सवको संयोजकमा रेवान पोखराका प्रथम उपाध्यक्ष बसन्त गौतमलाई चयन गरेको हो । त्यसैगरि सह–संयोजकमा कार्यसमिति सदस्य सुनिल बहादुर भट्टराई र सुमन भट्टराईलाई चयन गरिएको रेवान पोखराले जनाएको छ ।
यसैगरि महोत्सवको स्टेरिङ कमिटीमा अध्यक्ष विश्व राज पौडेल, निवर्तमान अध्यक्ष नरेश भट्टराई, संयोजक वसन्त गौतम, द्धितिय उपाध्यक्ष विकास भट्टराई, महासचिव विरेन्द्र शेरचन र कोषाध्यक्ष रोशन जंग कार्की गरी ६ जनाको कमिटि गठन गरियो । विगत २६ वर्ष देखी पर्यटकिय सुन्दर नगरी पर्यटनको राजधानी पोखराको लेकसाइड क्षेत्रमा अङ्ग्रेजी नयाँ बर्षको स्वागतार्थ आन्तरिक तथा बाह्य पर्यटकलाई अङ्ग्रेजी नयाँ बर्षको गन्तव्य स्थलको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले पोखराको लेकसाइड क्षेत्रको करिव ३ किलोमिटर क्षेत्रमा महोत्सव आयोजना हुँदै आएको छ ।
‘सडक मै खाउ, सडम मै नाचौं, सडक मै रमाउँ’ भन्ने नाराका साथ आयोजना गर्न गइरहेको यस महोत्सवले पोखराको पर्यटन प्रवद्र्धनमा गर्विलो इतिहास रचेको छ । कला संस्कृति प्रवद्र्धन गर्न, स्थानीय स्तरमा उत्पादित सामग्रीलाई वजार, प्रचार प्रसार, व्यापार वढाउन होस, ब्राण्डिङ गर्न तथा अवलोकन गराउने एउटै थलो पोखरा सडक महोत्सवले पर्यटक आकर्षण गर्न होस् वा लोपोन्मुख सामग्रीलाई संरक्षण गर्न प्लेटफर्म पनि दिदै आएकोछ । समग्रमा सडक महोत्सव स्थानिय स्तरमा आर्थिक गतिविधि चलायमान, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना गर्न गतिलो माध्यम वनेको छ । २६ वर्ष देखिको निरन्तरताले अब नेपालीलाई मात्र नभएर विदेशीलाई पनि नयाँवर्ष पोखरामा मनाउने वातावरण सृजना गराएको छ । यहि महोत्सवका कारण पोखरामा आन्तरिक र बाह्य पर्यटकको आगमन निकै बढेको छ ।
