पोखरामा नयाँ नयाँ होटल थपिने क्रम जारी छ । पोखराका पर्यटन व्यवसायी दाजुभाइ विश्वराज पौडेल र भीष्मराज पौडेलले ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा’ सञ्चालनमा ल्याउने तयारीमा छन् । चिल्ली गु्रप अन्तर्गत सञ्चालनमा आउने होटल अहिले निर्माणाधीन छ । पोखराको लेकसाइडस्थित स्ट्रिट नम्बर १७ लालुपाते मार्गमा होटल निर्माणको काम भइरहेको छ । अबको ६ महिनामा सम्पन्न गर्ने लक्ष्य छ ।
होटलमा ४७ वटा डिलक्स रुम, ५ वटा सुपर डिलक्स, २ वटा जुनियर स्विट र १ वटा प्रेसिडेन्सियल स्विट रुम रहनेछन् । स्विमिङ पुल, कन्फ्रेन्स हल, फिटनेस हल, स्पा लगायत पर्यटकका लागि आवश्यक सेवा होटलमा उपलब्ध हुने सञ्चालक विश्वराज पौडेलले बताए । ‘पोखरामा सुविधा सम्पन्न होटल निर्माण गरिरहेका छौं,’ उनले भने, ‘बुटिक होटल हो आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्नेमा हामी विश्वस्त छौं ।’
आधुनिक डिजाइन र नेपाली सैलीलाई मिक्स गरे निर्माण भइरहेको होटलमा अण्डर ग्राउण्डसहित प्रयाप्त पार्किङ, कार्यक्रम गर्नका लागि सेमिनार तथा मिटिङ हलको सुविधा उपलब्ध हुनेछ । साढे २ रोपनी जग्गामा निर्माण भइरहेको होटल सम्पन्न गर्न करिब ५० करोड रुपैयाँ लगानी हुने उनले बताए ।
होटल निर्माण भइरहेको स्थलमा यस अगाडि सञ्चालनमा रहेको हिमालयन किचन र हिमालयन गेष्ट हाउसलाई जरेबरमा स्थानान्तरण गरेर सञ्चालनमा ल्याएको छ । चिल्ली अन्तर्गत अहिले चिल्ली बार एण्ड रेष्टुरेन्ट, हिमालयन ग्लोरी इन र ३६० डिग्री स्काई लाउन्ज सञ्चालन भइरहेको छ । गु्रपले अहिले ८० जनालाई रोजगारी दिएको छ भने होटल सञ्चालनमा आए पछि थप ८० जनाले रोजगारी पाउने छन् ।
