पोखराका रात्रि क्लब र दोहोरी साँझमा बालबालिकाको प्रयोग हुने सूचना पाएपछि कास्की प्रहरीले यहाँ सञ्चालित विभिन्न क्लव तथा दोहोरी साँझमा छापा मारेको छ । यो क्रममा प्रहरीले ७ जना बालिकाको उद्दार गरेको छ । मंगलबार राति जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका, श्रम कार्यालय कास्की र शक्ति समूह नेपाल संस्थाबाट खटिएको अनुगमन टोलीले ७ बालिकालाई उद्दार गरिएको हो ।
पोखरा ९ मा रहेको क्लब डी बाट ३ जना, चिप्लेढुङ्गा स्थित गाउँ सहर दोहोरी साँझबाट २ जना र साइनो दोहोरी साँझबाट २ जना बालिकाहरुको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए । पोखराका रात्रिकालीन व्यवसायहरुमा बलिकाहरुलाई काममा लगाएको पाइएकाले ७ जना बलिकाहरुलाई उद्दार गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
