पोखराका फोटो पत्रकार सुर्दशन रञ्जितलाई नेपाल खेलकुद पत्रकार संघले खेल सिपाही स्पेशल अवार्डबाट सम्मानित गरेको छ । एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९ को अवसरमा उनलाई स्पेशल अवार्ड प्रदान गरेको हो ।
उनी एक फोटो पत्रकार, खेलकुदका एक सिपाही, पोखरेली पर्यटन र पोखरेली खेलकुदका अभियन्ताका रुपमा समेत चिनिन्छन् । चार दशक भन्दा वढी भयो होला, पोखरामा हुने खेल गतिविधिका शायदै कुनै तस्विर होलान्, जुन उनको क्यामरामा कैद नभएको होस् । माछापुच्छ्रेलाई आवरणमा पारेर एक बालकले क्रिकेट खेल्दै गर्दा उनले क्लिक गरेको एक तस्विरले सन् २००८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषदको ‘वर्षको उत्कृष्ट तस्विर’को अवार्ड नै जित्यो ।
पोखराको आहारारा गोल्डकपलाई उकास्ने सयौं हातहरुमा सुदर्शनको भूमिका स्यानो देखिन सक्छ, तर असाध्य महत्वपूर्ण खम्बाको रुपमा उनको भूमिका कम्तिमा त्यो क्लबका बाँकी सबै खम्बाहरुले बुझेका छन् । सहाराको सराहना फिफाले गर्दा होस् वा अनाथ बालबालिकालाई बालिग खेलाडी बनाउँदा, सहाराको हरेक सफलता सुदर्शनलाई ठोक्किएर मात्र अगाडि वढेको छ ।
नेपाली खेलकुदलाई दशकौंदेखि निस्वार्थ सेवा गरिरहेका सामान्य देखिने सुदर्शन रञ्जितको योगदान आइतबार काठमाडौंमा भव्य रुपमा सम्मानित भयो । नेपाली खेल पत्रकारको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले खेलकुदका यी सिपाहीलाई एनएसजेएफ स्पेशल अवार्ड बाट सम्मानित गर्यो ।
