नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश र एभरेष्ट नेपाल साँस्कृतिक समुहको संयुक्त आयोजनामा बुधबार पोखरामा १२औं अन्र्तराष्ट्रिय लोक साँस्कृतिक मेला २०८० हुने भएको छ । मेलामा नेपाल अस्टेलिया, वेल्जियम, बोत्सवाना, स्टोनिया, जर्मनी नेपाल भारत, इन्डोनेसिया, मलेसिया, पोल्यान, साउथ अफ्रिका सहित विभिन्न ११ राष्ट्रका झण्डै ३ सय ७५ कलाकारको सहभागीता रहने पोखरामा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका पूर्व अध्यक्ष तथा संरक्षक प्राज्ञ प्रजापति पराजुलीको नेतृत्वमा लोक दोहोरी कार्यक्रम समेत सञ्चालन हुने आयोजक समितिका संस्थापक अध्यक्ष समेत रहेका कार्यक्रम संयोजक सञ्जिव बहादुर कोइरालाले पत्रकार सम्मेलनमा बताउनुभयो । मेला प्रवेशका शुल्क नलाग्ने कोइरालाको भनाई छ । बाराही घाटमा हुने कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय सुरेन्द्रराज पाण्डे प्रमुख अतिथिका रुपमा उपस्थित हुने उहाँले बताउनुभयो । उद्घाटन पूर्व लेकसाइड क्षेत्रमा शोभायात्रा निस्कने छ ।

कार्यक्रमको सहयोगी संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ काठमाण्डौं, नेपाल सरकार, गण्डकी प्रदेश सरकार, पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश अन्तरगतका २१ वटा जिल्ला नगर उद्योग वाणिज्य संघ, पोखरा पर्यटन परिषद्, लगाएत पर्यटन संग आवद्ध सबै व्यवसथी संघ संस्थाहरु रहेको आयोजक नेपाल उद्योग बाणिज्य महासंघ, गण्डकीका उपाध्यक्ष सूर्यबहादुर भुजेलले बताउनुभयो । समितिका सदस्य हरि शर्मा ग्रह्रेले पोखरामा आयोजना हुने यस्ता कार्यक्रमले यहाँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । समारोमा आयोजक समितिका सदस्य हरिकुमार श्रेष्ठ, सितादेवी सुवेदी, झलकलाल श्रेष्ठ, सल्लाहकार लक्ष्मी प्रसाद त्रिपाठी, महिला उद्यमी सभापति रामकली खड्का लगायतको उपस्थिती रहेको थियो ।
