बाघले भैंसी मार्नु सामान्य हो, तर भैसीले कसरी मार्यो बाघ ?

0Shares

मकवानपुर मनहरीको एउटा खबर देशभर फैलियो । झट्ट सुन्दा अपत्यारिलो खबर थियो त्यो- ‘भैँसीले बाघ मार्‍यो’ । सामाजिक सञ्जालमा त ट्रोल नै बनाइएको छ । वन्यजन्तुसँग नजिकमा रहेर काम गरिरहेकाहरू सामान्य अवस्थामा बाघले ३ सय किलोसम्मको भैँसीलाई मारेर अर्को ठाउँ पुर्‍याएर खान सक्ने बताउँछन् । त्यसो भए मकवानपुर गाउँपालिका-६, प्रतापपुरका बलबहादुर राईको गोठमा बाँधेको भैँसीले कसरी बाघ मार्न सक्यो त ?

स्वयं वन्यजन्तु विशेषज्ञहरूलाई पनि यो घटनाले अचम्म पारेको छ । चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ वन्यजन्तु चिकित्सक डाक्टर विजय श्रेष्ठ पनि सुरूमा बाघले भैँसी मारेको भन्ने सुनेर अचम्ममा परेको बताउँछन् । तर, बाघको अवस्था जाँच गरिसकेपछि बाँच्ने अन्तिम प्रयास गर्दा मर्न पुगेको पुगेको निर्क्यौल गरिएको डाक्टर श्रेष्ठले बताए । उनका अनुसार जम्मा ८ वर्षमात्रै उमेरको वयस्क भाले बाघ आज बिहान भैँसीको प्रतिकारमा मरेको हो ।

भैँसी खान गएको त्यो बाघ जंगलमा बाघसँग नै जुधेर सख्त घाइते अवस्थामा रहेको श्रेष्ठले बताए । उनका अनुसार पहिले नै जुधेर बाघको टाउको र शरीरका विभिन्न ठाउँको घाउ गन्हाएको अवस्थामा थियो । पोष्टमार्टमपछि बाघ २ सातादेखि भोको रहेको पनि खुलेको छ ।

‘वयस्क उमेरकै भएपनि अर्को बाघले टोकेर चोटै चोटले बिरामी अवस्थामा रहेको बाघ रहेछ, वरिष्ठ वन्यजन्तु चिकित्सक श्रेष्ठले भने, ‘उसले उठेर खानेकुरा खोज्न जंगलभित्र पस्न नसक्ने अवस्था भएपछि आफूलाई बचाउन अन्तिम प्रयास गरेको देखिन्छ । सानो जनावर भएको भए बाघ आफूलाई बचाउन सफल हुन्थ्यो । तर, भैँसीले प्रतिकार गर्दा सिङको चोट गहिरोसँग टाउकोमा लागेर मर्‍यो ।’

सामान्य अवस्थाको बाघलाई भैँसीले मार्न नसक्ने उनले बताए । भैँसी वा राँगाको झुण्डले एकैपटक आक्रमण गर्दा मार्न सक्ने भएपनि एक्लो भैँसीले भने सामान्य अवस्थाको बाघलाई मार्न नसक्ने श्रेष्ठ सुनाउँछन् । सामान्यतया बाघको आयु १२ देखि १५ वर्षसम्म मानिन्छ । आज मृत्यु भएको बाघ बुढो भएर नभइ वयस्क अवस्थाकै भएपनि शरीरका घाउको कारण कमजोर भएको डाक्टर श्रेष्ठले जानकारी दिए । -नेपाल प्रेशबाट

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *