सिन्धुलीबाट सम्पर्कविहीन भएको भनिएका हायू परिवारका सबै सदस्य कास्कीको गगनगौंडामा फेला परेका छन् । उनीहरूलाई पोखराको माथिल्लो गौँडगौडा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुले आफूहरू मजदुरी काम गर्न पोखरा आएको बताएका छन् । उनीहरू गौँडगौडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा फेला परेको कास्की प्रहरीले जनाएको छ ।
सोधपुछका क्रममा उनीहरू सिन्धुलीबाट गाडी रिजर्भ गरेर पोखरा आएको खुलेको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ छेत्पाबाट हायू परिवार गत शुक्रबारदेखि बेपत्ता भएको थियो । परिवारकै १६ जना ४ दिनदेखि सम्पर्कविहीन भएको खबर सोमबार दिनभर नै चर्चामा रहेको थियो । परिवारै रहस्यमयी तरिकाले सम्पर्कविहीन भएको छिमेकीले बताएका थिए ।
