तीज अवसरमा पोखरा १ स्थित पुरानो टुँडिखेलमा हुने तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव–२०८२ तयारी पूरा भएको छ । आयोजक इन्द्रेणी एकीकृत विकास केन्द्रले यही ६ देखि १५ भदौसम्म सो महोत्सव गर्न लागेको हो । बुधबार आयोजित पत्रकार सम्मेलनमा महोत्सव तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए । पूर्व प्रधानमन्त्री एवं एकीकृत माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ । महोत्सवमा १ सय ५० व्यापारिक र १२ रेष्टुरेन्टका स्टल रहने छन् ।
आयोजक केन्द्रका उपाध्यक्ष एवं अर्थ संकलन उपसमिति संयोजक नीरजविक्रम राणाका अनुसार ६९ लाख आम्दानी, ६४ लाख ५० हजार खर्च हुने अनुमान छ । करिब ४ लाख ५० हजार बचत गरी सामाजिक काममा खर्च गरिने आयोजकले जनाएको छ ।
ऐतिहासिक टँुडिखेलको संरक्षण, परम्परागत नेपाली कला संस्कृति संरक्षण, महिलाद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, नृत्य र संगीतमार्फत महिला सशक्तीकरणमा टेवा, लोपोन्मुख संस्कृति जगेर्ना, प्रतिभा प्रस्फुटन, सांस्कृतिक, खेलकुद तथा ज्ञानवद्र्धक एवं मनोरञ्जनात्मक कार्यक्रम संचालनका लागि महोत्सव हुनेछ । यस्तै, पर्यटन प्रवद्र्धन टेवा दिने, इन्द्रेणी एकेडेमीका बालबालिकाको समग्र स्तरोन्नति गर्ने, इन्द्रेणी आवासीय किरियाकर्म भवन सुविधासम्पन्न बनाउने, शवयात्रा वाहन सञ्चालन गर्ने लगायतका उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको हो ।
१० दिनसम्म चल्ने महोत्सवमा मौलिक तीजगीत प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, परम्परागत सीप ढिँकीजाँतो प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता संचालन हुनेछन् । महोत्सवमा दैनिक उपभोग्य, कृषि, हस्तकला, बैंक तथा वित्तीय संस्था, लत्ताकपडासँगै अन्य विभिन्न गरी एक सय ५० व्यापारिक स्टलहरु, १२ रेष्टुरेन्टका स्टल, बालउद्यान रहने प्रचार संयोजक रोहितराज पराजुलीले बताए । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति समेत रहनेछ । व्यापारिक र रेष्टुरेन्टका सम्पूर्ण स्टलहरु बुकिङ भैसकेका छन् ।
महोत्सवलाई विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीले मुख्य प्रायोजन गरेको छ ।टुर्बोग वियरले सहप्रायोजनसँगै गृहलक्ष्मी ग्यास, कर्मा इन्टरनेश्नल इम्पोलिमिट प्रालि काठमाडौंले उपप्रायोजन गरेका छन् । बाल्ट्रा होम एप्लिकेसन, राष्ट्रिय वाणिज्य बैंक र सालिको इन्स्योरेन्सले प्रायोजन, राष्ट्रिय माध्यमिक विद्यालयले विशेष सहयोग, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पर्यटन तथा उद्योग मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, माछापुच्छे गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र पोखरा १, २, ३ वडा कार्यालयले प्रवद्र्धन गर्ने भएका आयोजक केन्द्र अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए ।
