पोखरामा सहकारी संस्था ठगी प्रकरणमा अध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा ९ न्यूरोडमा कार्यालय रहेको विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाको करिब ७ करोड रकम हिनामिना गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सहकारीका अध्यक्ष सुवर्णमान नकर्मी, सञ्चालक समिति सदस्य एवं ऋण समिति संयोजक कृष्णमान श्रेष्ठ र उदित सन्दीप पौडेललाई आइतबार पक्राउ गरेको कास्की प्रहरीले जानकारी दिएको छ ।
उनीहरुलाई कास्की जिल्ला अदालतबाट सहकारी ठगी सम्बन्धी कसूरमा ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए । सहकारी समितिका पदाधिकारीसमेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको, सहकारी रकम हिनामिना, अपचलन एवं ठगी गरेको भनी सहकारी रजिष्ट्रार कार्यालय पोखरामा जाहेरीको आधारमा मुद्दा दर्ता भएको हो । छानबिनमा झण्डै ७ करोड रुपैयाँ हिनामिना गरेको प्रतिवेदन प्रहरीलाई दिएको छ । सहकारी अध्यक्ष सुवर्णमान नकर्मी र सचिव गंगाधर सुवेदीले अन्य पदाधिकारीको किर्ते हस्ताक्षर गरी सहकारीको जग्गा तथा रकम दुरुपयोग गरेको भेटिएको छानविन देखीको छ ।
उनीहरुले सहकारीको नामको ३ रोपनी जग्गा बगालेटोलको लेकसिटी हस्पिटललाई बेचेका थिए । उक्त कार्य बाहिरिएपछि गत पुस २६ मा उनीहरु दुवैले ८ दिनभित्र जग्गा संस्थाको नाममा ल्याउने र त्यसो गर्न नसके आधाआधा रकम व्यहोर्ने सहमति गरेका थिए । तर यतिका समय बितिसक्दा पनि जग्गा सहकारीको नाममा आउन सकेको छैन । त्यसैगरी कृष्णमान श्रेष्ठलाई सहकारीको संयुक्त खाता सञ्चालन गरी १ करोडभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
