आयोजक वेष्ट इण्डिजलाई हराउँदै दक्षिण अफ्रिका विश्वकप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । एन्टिगुवाको नर्थ साउण्डमा भएको खेलमा दक्षिण अफ्रिका ३ विकेटले विजयी भयो । टस हारेर पहिले व्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रन बनायो । उसका लागि रोस्टन चेजले ५२ रन जोडे । बलिङतर्फ दक्षिण अफ्रिकाका तब्रेज शम्शीले तिन विकेट लिए । १३६ रनको लक्ष्य पछ्याएर दक्षिण अफ्रिकाले व्याटिङ थालेपछि वर्षाले खेल रोकियो ।
त्यसपछि १७ ओभरमा घटाइएको खेलमा दक्षिण अफ्रिकालाई १२३ रनको नयाँ लक्ष्य दिइयो । उक्त लक्ष्य दक्षिण अफ्रिकाले खेलमा ५ बल बाँकी छँदा ७ विकेट गुमाएर पुरा ग¥यो । दक्षिण अफ्रिकाको जितमा ट्रिस्टन स्टब्सका २९ रन तथा मार्को यान्सेनको अविजित २१ रन महत्वपूर्ण रह्यो ।
जितसँगै दक्षिण अफ्रिका समुह विजेताको रुपमा सेमिफाइनलमा उक्लियो । सुपर आठको तिन खेलबाट दक्षिण अफ्रिकाले ६ अंक जोड्यो भने ४ अंक जोडेको इंग्ल्याण्ड पनि सेमिफाइनलमा पुगेको छ । वेष्ट इण्डिज भने सुपर आठबाट बाहिरिएको छ ।विश्वकप टी–२० क्रिकेटमा आज बेलुकी भारत र अष्ट्रेलिया भिड्नेछन् । यो खेलको परिणामले सेमिफाइनलमा पुग्ने थप दुईवटा टोलीको टुंगो लगाउनेछ ।