साउन महिनामा अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाउने भएका छन् । सोमबारदेखि लागू हुने गरी बैंकहरुले आइतबार सार्वजनिक गरेको ब्याजदरमा अधिकांश वाणिज्य बैंकहरुको ब्याजदर घटेको छ भने केहीले स्थिर राखेका छन् । केही बैंकले भने ब्याजदर बढाउने भएका छन् । नेपाल बैंकर्स संघले ब्याज दरको कार्टेलिङ अन्त्य गरेपछि बैंकहरुको ब्याज दरमा विधिता देखिएको हो । ब्याजदर सार्वजनिक गरेका १८ वटा मध्ये दश वटाले ब्याजदर घटाएका हुन ।
ब्याजदर घटाउने बैंकहरुमा राष्ट्रिय बाणिज्य बैंक, प्रभु बैंक, नेपाल एसबीआइ बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, नेपाल बैंक र कृषि विकास बैंक रहेका छन् । राष्ट्रिय बाणिज्य बैंकले मुद्दतीको ब्याजदर ८ दशमलव ९९ प्रतिशतमा झारेको छ भने प्रभुले पनि मुद्दतिमा अधिकतम ८ दशमलव ९९ प्रतिशत दिने भएको छ ।
एसबीआइ बैंकले मुद्दतीमा अधिकतम् ९ दशमलव १ प्रतिशत, माछापुच्छ्रेले ९ प्रतिशत, एभरेष्ट बैंकले ९ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९ दशमलव ९५ प्रतिशत, सिद्धार्थ बैंकले ९ दशमलव ५ प्रतिशत, सानिमा बैंकले ९ दशमव ५२ प्रतिशत, नेपाल बैंकले ८ दशमलव ९९ प्रतिशत र कृषि विकास बैंकले ९ दशमलव ५१ प्रतिशतमा कायम गरेका छन् ।
