आसन्न दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप गण्डकी प्रदेश टेनिस संघले गण्डकीको छनौंट खेल सम्पन्न गरेको छ ।गण्डकी प्रदेश टेनिस संघको आयोजना तथा प्रदेश खेलकुद परिषद्, गण्डकीको सहयोगमा पोखरास्थित पोखरा टेनिस सेन्टरमा उक्त छनोट खेलकुद अन्तर्गत टेनिस प्रतियोगिता सम्पन्न भएको हो ।
पुरुष एकलतर्फको फाइनल खेलमा नेपालका नम्बर १ खेलाडी प्रदीप खड्काले दर्शिल श्रेष्ठ लाई ६–३, ६–२ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारे । महिला एकलतर्फ साल्भी शेरचनले रोमिका बुद्धाचार्य लाई ६–३, ७–६, (७–३) ले पराजित गर्दै उपाधि जितिन् । पुरुषतर्फ तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा साश्वत बज्राचार्यले अनिल साई लाई ५–७, ६–२, (१०–३) को नतिजामा हराउँदै तेस्रो स्थान सुरक्षित गरे । महिलातर्फको तेस्रो स्थान आरुषी तुलाचनले हासिल गरिन् ।
पुरुषतर्फ अनिल शाही र शक्ति शर्मा पनि प्रतियोगिताका लागि छानिएका छन् । दिलास्मा घर्ती मगर र आहना शेरचन पनि महिलातर्फ छनौंट हुन सफल भए । बिजेता खेलाडीहरुलाई प्रदेश खेलकुदका सदस्य दिल बहादुर गुरूङ, गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थ, उपाध्यक्ष लोक बहादुर गुरूङलगायतले मेडल वितरण गरेका थिए । प्रमुख अतिथि गुरुङले गण्डकी प्रदेश टेनिस संघले टेनिस विकासमा पुर्याएको योगदानको चर्चा गर्दै अन्य संघहरुले पनि यसको सिको गर्नुपर्ने औल्याए ।
चार दिन देखि सञ्चालन भएको प्रतियोगितामा १३ जना पुरुष र ८ महिला गरी २१ जना खेलाडीहरुको सहभागिता रहेको थियो । छनौंट हुन सफल खेलाडीको तर्फबाट बोल्दै प्रदीप खड्काले गण्डकीका लागि यस अघिको राष्ट्रिय प्रतियोगितामा दिएको नतिजा पुन दोहोर्याउँदै स्वर्ण जित्ने अठोट गरे । संघका सचिव लक्ष्मण बरालले सञ्चालन गरेको समारोहमा बोल्दै संघका अध्यक्ष विनोद कायस्थले राष्ट्रिय प्रतियोगिता आयोजनामा सरोकारवाला पक्षले चासो दिई समयमै गर्न आग्रह गरे ।
