ठूला भारतिय नोट नचल्दा नेपाल आउने भारतीय पर्यटकले दुःख पाएको पोखरेली व्यवसायीहरुले गुनासो गरेका छन् । नेपाल घुम्न आएका भारतियहरुले चाहे जति खर्च समेत गर्न नपाएको उनीहरुको भनाई छ । पोखरा उद्योग बाणिज्य संघले नेपाल राष्ट्र बैंक पोखराकी निर्देशक आर्या जोशीसंग आइतबार आयोजना गरेको ‘वैदेशिक मुद्राको प्रयोग र समस्या विषयक अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रममा बोल्दै उनले भनिन्– ‘नेपालमा सय रुपैयाँभन्दा ठूला भारतीय नोट चल्दैनन्,यहाँ भारतीयको एटीम, भिसा र मास्टरकार्ड पनि मुस्किलले चल्छ,’ उनले भने,‘ एउटा मान्छे पैसाको भारी बोकेर घुम्न निस्कँदैन । अब डिजिटल भुक्तानी प्रणाली कार्यान्वयनमा नगइ सुख छैन ।’ ‘अहिले भारतीय पर्यटकहरुको आवागमन बढेको छ, सीमा क्षेत्रमा त क्यासिनो पनि खुलेका छन्,त्यहाँबाट भारतीय रुपैयाँ भित्रिएको छ’उनले भनिन्,‘भारतबाट हुने आयात कम हुँदा माग भने कम भएको छ ।’ उनले भनिन् ।
बजारमा सय रुपैयाँभन्दा बढीका भारतीय नोटहरु प्रचलित विनिमय दरभन्दा घटीमा कारोबार भइरहेको, ठूला भारतीय नोट नचल्दा पर्यटकहरु मर्कामा परेको गुनासो आएसँगै पोखरा उद्योग वाणिज्य संघले सो कार्यक्रमको आयोजना गरेको अध्यक्ष पवनकुमार प्रजापतिले बताए । उनले प्रजापतिले भारतीय ठूला नोटको प्रचलनको व्यवस्था गरिनुपर्ने, अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली तत्काल कार्यान्वयनमा आउनुपर्ने र व्यवसायीहरुसँग भएका भारतीय ठूला नोटको व्यवस्थापन हुनुपर्ने माग गरेका थिए ।
निर्देशक जोशीले सय रुपैयाँभन्दा ठूला भारतीय नोटहरु साँटिदैन भन्ने थाहा हुँदाहुँदै पनि प्रचलन भइरहेको स्वीकार्दै भनिन्,‘भारतले नै नलिने पैसा राष्ट्र बैंकले लिँदैन । यसमा हाम्रो पनि दोष छ ।’ नेपाल राष्ट्र बैंकले डिजिटल पैसा प्रयोगमा ल्याउने तयारी थालेको र विद्युतीय भुक्तानी प्रणालीलाई व्यवस्थित गरिने पनि उनले जानकारी दिइन् । निर्देशक जोशीले कर्जाको ब्याजदर घट्दो क्रममा रहेको तर समय भने लाग्ने पनि बताइन् । तलरता बढेको र अर्थतन्त्रका सूचकहरु सकारात्मक हुँदै गएकाले व्याजदर घटने उनको तर्क थियो ।
नेपाल बैंकर्स एसोसियसन गण्डकीका अध्यक्ष सूर्य रोकाले पनि भारतकै कारण ठूला दरका भारतीय नोटको प्रयोग हुन नसकेको बताए । नेपाल हुँदै नक्कली नोटहरु भारत भित्रने आशंकासँगै भारतले त्यो नीति लिएको उनको भनाइ थियो । उनले बैंकहरु व्याजदर घटाउने प्रक्रियामा रहेको जानकारी दिए ।
पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण कोइरालाले घरघरमा थन्किएका भारतीय रुपैयाँ व्यवस्थापन गर्न राष्ट्र र्बैकले नै पहल गर्नुपर्ने बताए । वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले ठूला दरका भारती नोटहरु सकेसम्म प्रयोगमा नल्याउन व्यवसायीहरुसँग आग्रह गरे । टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले नेपालका केही निषेधित क्षेत्रमा जान पर्यटकले डलरमा शुल्क बुझाउनुपर्ने तर सजिलै डलर नपाउँदा समस्या भएको सुनाए । उनले डिजिटल भुक्तानीलाई छिटो व्यवस्थित गर्नुपर्ने माग राखे ।
पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यको संचालन रहेको कार्यक्रममा उपाध्यक्षद्धय देवेन्द्र केसी र उत्तममान बुद्धाचार्य, कोषाध्यक्ष दीनेशचन्द्र बास्तोला, कार्यसमिति सदस्यहरु सु्दीप प्रधानाङ्ग,बालकृष्ण कोइराला, दीलिप श्रेष्ठ, जीवनकुमार श्रेष्ठलगायतले विभिन्न जिज्ञासा राखेका थिए । भारतीय ठूला नोट कम दरमा सटही गर्नुपरेको र अनौपचारिक अर्थतन्त्र मौलाउँदै गएकोमा उनीहरुले चिन्ता व्यक्त गरे ।
