पोखरा ९ नागढुंगा स्थित नागढुंगा टोल विकास संस्थाले नागढुंगा आमा समूहका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई एवं सम्मान गरेको छ । समूहद्वारा सनिबार आयोजित एक समारोहका बीच आमा समूहलाई सम्मान गरियो भने पोखरा महानगरपालिका वडा नम्बर ९ को कार्यालयले पनि आयोजक संस्थालाई फर्निचर सहयोग प्रदान गरेको छ ।
सहयोग एवं सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सनीले टोल विकासका लागि टोलबासी बिचको सम्बन्ध सुमधुर बन्नुपर्नेमा जोड दिएनुभयो । एकता र सहकार्यबाटै विकासको सम्भावना रहेको बताउँदै अध्यक्ष मर्सनीले टोल विकासका कार्यमा वडाले हातेमालो गर्ने प्रतिबद्धता जनाउनु भयो । समारोहमा उहाँले नागढुंगा टोल विकास संस्थालाई स्टिल दराज र अफिस टेबल हस्तान्तरण गर्नुभयो । वडा सदस्यद्वय नन्दराम गिरी र लक्ष्मी पहारीले वडा नम्बर ९ ले विकासको दृष्टिकोणबाट कुनै पनि टोललाई विभेद नगरेको जनाउँदै वडा भित्रका सबै टोलको विकासका लागि जनप्रतिनिधि तत्पर रहेको औल्याउनुभयो ।
सम्मान ग्रहण गर्दै नागढुंगा आमा समूहका अध्यक्ष कमला श्रेष्ठले आपसी समन्वय, सहकार्य र भाइचारानै टोल विकासको आधार भएको बताउनुभयो । नकारात्मक सम्बन्धले नकारात्मक तर्फै लैजाने बताउँदै सकारात्मक सम्बन्ध बनाउन सकिए टोल विकासमा सकारात्मक प्रभाव पर्ने श्रेष्ठको भनाइ थियो । आयोजक संस्थाका सल्लाहकार ठाकुरप्रसाद अधिकारीले टोल विकास संस्था गठनपछि समाजमा सकारात्मक क्रियाकलाप अघि बढेको बताउनुभयो । टोल विकासका लागि बाहिरी सहयोगको मात्र अपेक्षा नराखी टोलबासी स्वयंले पनि आफ्नो टोल विकासमा योगदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सो अवसरमा नागढुंगा आमा समूहले आयोजक संस्थालाई नगद रु ११ हजार १ सय ११ तथा भर्खरै मात्र नागढुंगामा बसोबास गर्नुभएका इन्जिनियर विप्लव कँडेलले १० हजार प्रदान गरी संस्थाको आजीवन सदस्यता ग्रहण गर्नुभयो । आयोजक समितिका अध्यक्ष विष्णु प्रसाद सुवेदीले आगामी दिनमा टोल विकासका लागि टोलबासी तथा स्थानीय सङ्घसंस्था जनप्रतिनिधि लगायतसँग सुमधुर सम्बन्ध बनाउँदै अघि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभयो । संस्थाका सचिव लक्ष्मी गिरीले सञ्चालन गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष कमल काफ्लेले स्वागत मन्तव्य राख्दै कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियो ।
